म सरकार चलाउन दिक्क दिक्क भइसकेँ : प्रधानमन्त्री ओली
टुडेपाटी-
जनकपुरधाम, जेठ ७ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकार चलाउन दिक्क भइसकेको बताएका छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले आफू थप सरकार चलाउन नसक्ने बताएका हुन् ।
सरकार चलाउन नसक्ने भएकै कारण आफूले विश्वासको मत लिने प्रक्रियामा नगएको र नयाँ सरकार गठनका निम्ति मार्ग प्रसस्त गरिदिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले वैकल्पिक सरकार लिएर आउन विपक्षी गठबन्धनलाई आग्रह गरे । ‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस् । बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार । म त्यसलाई स्वागत गर्नेछु । त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ । सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ,’ उनले भने ।
घेराबन्दी गरेर सरकार असफल बनाउने अनि दोषजति मेरो टाउको हाल्ने काम नगर्न विपक्षी गठबन्धनलाई आग्रह गरे ।
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिको विरोध गरेर गणतन्त्रलाई कमजोर बनाउने प्रयास समेत भइरहेको बताए ।
राष्ट्रपति गणतन्त्रको प्रतीक भएको उल्लेख गर्दै ओलीले राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भइरहेको आरोप लगाए । आफूले गरेका सिफारिसमा आफू जवाफदेही भएको बताउँदै त्यसमा राष्ट्रपतिलाई अनावश्यक रुपमा विवादमा नमुछ्न पनि आग्रह गरेका छन् ।
Sponsored