कारोनाको कारण प्रदेश २ सभा बैठक अनिश्चित समयको लागि स्थगित
टुडेपाटी –
जनकपुरधाम, चैत ७ गते ।
विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोनालाई मध्यनजर गर्दै प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चित समयको लागि स्थगित भएको छ । बिहीबार प्रदेशसभा बैठक बसी अनिश्चित समयको लागि स्थगित भएको हो ।
संघीय सरकारले कोरोना संक्रमण रोक्न २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरी बुधबार सूचना जारी गरेको थियो । त्यसै कारण उक्त निर्णयलाई समेत मध्यनजर गर्दै अनिश्चित समयका लागि प्रदेशसभा बैठक स्थागित गरिएको सचिवालयले जनाएको छ ।
बिहीबारको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले पेश गरेको सहकारी विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो भने आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश अनुसन्धान व्युरोको स्थापना, काम, कर्तव्य र अधिकारसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७६ र प्रदेश २ को जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको विषयमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पेस गरेका थिए ।