सर्लाहीको बलरा नगरपालिकामा उच्च ज्वरोका कारण ४ जनाको मृत्यु
टुडेपाटी-
सर्लाही, वैशाख २१ गते ।
सर्लाहीको बलरा नगरपालिकामा उच्च ज्वरोका कारण चारजनाको मृत्यु भएको छ । भारतसँग सीमा जोडिएको बलरा नगरपालिकामा आइतबार एकै दिन तीन जनाको मृत्युसँगै ४ जनाको ज्यान गएको हो ।
नगरपालिका-६ स्थित मिर्जापुरमा ८० र ८५ जनाका दुई वृद्धको मृत्यु भएको बलराका मेयर अभयकुमार सिंहले जानकारी दिए ।
अर्का एकजनालाई भने वीरगन्ज लगिएको र उनको त्यहीँ ज्यान गएको हो । मिर्जापुर र नगरपालिकाको ३ नम्बर वडामा हाल सयौँमा ज्वरो फैलिएको छ । त्यहाँ स्वास्थ्यकर्मीलाई खटाइए पनि स्थानीय डराएर चेकजाँचमा सहभागी हुन नमानेका मेयर सिंहले बताए ।
कोरोना चेकजाँच गर्ने र त्यसपछि आइसोलेसनमा पठाउने डरले ज्वरो नै नआएको भन्दै स्थानीयले ढाँट्ने गरेका मेयर सिंह बताउँछन् । अवस्था भयावह बन्दै गए पनि सीमामै रहेको बलराका बासिन्दा किनमेल तथा औषधि उपचारका लागि भारतीय बजार धाइरहेका छन् ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको हुन सक्ने भन्दै यसबारे बुझ्न सोमबार दिउँसो स्वास्थ्य कार्यालयले मंगलवाले स्वास्थ्यकर्मीको टोली बलरातर्फ पठाएको थियो ।
Sponsored
‘व्यापक रुपमा स्वास्थ्यकर्मीको टोली खटाइएको छ । हिजो २९ मध्ये १० जनामा कोरोना देखियो । स्वास्थ्य चौकीमा आज दिउँसो १२ बजेबाट गाडी ल्याइनेछ । सिकिस्त हुनेहरूलाई उद्धार गरिनेछ, आजबाट सबैको परीक्षण हुन्छ,’ मेयर सिंहले बताए ।