नारायणी अस्पतालमा थप ३ संक्रमितको ज्यान गयो, १७५ नयाँ संक्रमित थपिए
टुडेपाटी-
वीरगञ्ज, वैशाख १७ गते ।
वीरगञ्जको नारायणी अस्पतालमा थप तीनजनाको कोरोना संक्रमण्बाट मृत्यु भएको छ । दुई महिला र एक पुरुष गरी थप ३ संक्रमितको मृत्यु भएको हो ।
तीनैजना संक्रमितको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका–३ निवासी ४७ वर्षकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
गत मंगलबार उनी उपचारको लागि भर्ना भएकी थिइन् ।
यस्तै बाराको जीतपुर सिमरा उप महानगरपालिका–२४ निवासी ७७ वर्षका वृद्धको पनि उपचारको क्रममा मृत्यु भएको छ ।
Sponsored
त्यस्तै वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ४८ वर्षकी महिलाको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक दासले बताए ।
१ सय ७५ जना नयाँ संक्रमित थपिए
नारायणी अस्पतालमा बिहीबार गरिएको परीक्षणमा थप १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ सय ८८ जनाको स्वाब परीक्षण गर्दा १ सय ७५ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ
।
अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासका अनुसार संक्रमण देखिनेमा सबै भन्दा बढी पर्सा जिल्लाका १ सय ३१ जना छन् ।
यस्तै बाराका ३४, सर्लाहीका ५, रौतहटका ३, महोत्तरी र दाङका एक–एक जनामा संक्रमण देखिएको उनले जनाए ।