TodayPati

महोत्तरीमा स्थगित भएको एसईई परीक्षा दिन पुगेका परीक्षार्थीले भने-‘तनाव थप्यो’

रञ्जन भण्डारी-
महोत्तरी, चैत ६ गते ।

सरकारको एसइई परीक्षा अन्तिम समयमा आएर स्थगित गर्दा केही परीक्षार्थी परीक्षा सुरु हुने दिन बिहीबार बिहान परीक्षा केन्द्रमा पुगेको भेटियो ।

महोत्तरीस्थित जलेश्वरको लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय, सुकदेव माध्यमिक विद्यालय, महेन्द्र आदर्श महिला माध्यमिक विद्यालय र मटिहानीको राम माध्यमिक विद्यालयलगायतका केही परीक्षा केन्द्रमा परीक्षाका लागि विद्यार्थी पुगेका थिए ।

सरकार परीक्षा सुरु हुनु अघिल्लो दिन मात्र परीक्षा स्थगित गरेकाले अलमल भएको उनीहरूको भनाइ थियो ।
महेन्द्र आदर्श महिला माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पुरानो ग्रेडवृद्धिका दुई सय ४१ जना छात्रछात्राले परीक्षा दिनुपर्नेमा अधिकांशले राति सरकारले परीक्षा स्थगन गरेको खबर नपाएको बताए ।

Sponsored

उक्त केन्द्रमा मावि हात्तिलेट, मावि बखरी भाट, सुकदेव मावि सुगा, मावि खखना लोटना, मावि पशुपतिनगर बनरझुल्लालगायत महोत्तरीका विभिन्न विद्यालयका छात्रछात्राले परीक्षा दिनुपर्ने थियो ।

अधिकांशले जलेश्वरमै डेरासमेत लिएका थिए । तर, अचानकको निर्णयले उनीहरूलाई दोधारमा पारेको परीक्षा केन्द्र पुगेका छात्र अंकित मण्डलले बताए । उनले डेरा लिएर परीक्षा दिन जलेश्वरमा बसेको र परीक्षा स्थगित भएकोबारे जानकारी नभएको बताए ।

अर्का विद्यार्थी बिसुन साहले परीक्षा रद्द भएकाले केही मानसिक तनाव थपिएको बताए । उनले यस्तो अवस्थाको पूर्वआकलन गरेर केही दिन अगावै परीक्षा हुने–नहुनेबारे निर्णय लिनुपर्नेमा अन्तिमसम्म परीक्षा हुन्छ भन्दै अघिल्लो दिन मात्र आएर स्थगित हुनुले तनाव थपेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *