TodayPati

जानकी मेडिकलका कर्मचारी ९८ दिनदेखि रिलेअनशनमा, प्रशासन शाखा लगायतमा गरे तालाबन्दी

टुडेपाटी-
जनकपुरधाम, वैशाख १२ गते ।

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीले अस्पतालको प्रशासन तथा लेखा शाखामा तालाबन्दी गरेका छन् ।

विगतमा भएको सहमति सम्झौता कार्यान्वय गर्न ९८ दिनदेखि रिलेअनशनमा बसेका कर्मचारीले आइतबार केन्द्रीय प्रशासन कार्यालय, लेखा शाखा र मानव संशाधन शाखामा तालाबन्दी गरेका हुन् ।

Sponsored

कर्मचारीहरु माघ ५ गतेदेखि रिले अनशनमा बसेका छन् । कलेजमा कार्यरत १२५ कर्मचारीमध्ये १०० जना कर्मचारी आन्दोलनमै रहेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले बताए ।

उनका अनुसार रिले अनशन सुरु गरिएको दिनदेखि नै प्रत्येक दिन दुईजनाको टिम बनाएर अनशन जारी राखिएको छ ।

यसअघि पनि उनीहरू कलेजमा कार्यरत कर्मचारी, चिकित्सक तथा फ्याकल्टीबीच तलबभत्ता, सञ्चयकोष, दसैंभत्तालगायत बाँकी बक्यौता भुक्तानी एवं संस्था सुदृढीकरणका लागि भन्दै कात्तिक १६ गतेदेखि मंसिर १३ गतेसम्म आमरण अनशनमा बसेका थिए ।

Sponsored

आमरण अनशनमा बसेका कर्मचारीद्वय जानकीशरण यादव र कुलदीप साहले ३ बुँदे सहमतिपश्चात् गत मंसिर १३ गते अनशन तोडेका थिए ।

मंसिर १७ गतेभित्र कलेज र कर्मचारीबीचको समस्या समाधान गर्न दुवै पक्षबाट २ र २ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीको आधिकारिक ट्रेड युनियनका अध्यक्षहरू सम्मिलित कार्यदल गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने सहमति भएको थियो ।

तर, सो त्रिपक्षीय सहमति आजको मितिसम्म पनि संस्था सञ्चालक पक्षद्वारा कार्यान्वयन नगरिएकाले बाध्य भएर आफूहरू दोस्रोपटक रिले अनशनमा बसेको कर्मचारीहरुको गुनासो छ ।

संस्थाका सञ्चालक ओमप्रसाद पाण्डेयले विभिन्न मितिमा गरिएको लिखित तथा मौखिक सम्झौता एकतर्फी रुपमा पटक–पटक उल्लंघन गरेको उनीहरुको आरोप छ ।

आन्दोलनरत कर्मचारीले आफूहरूको ७ महिना बराबरको तलब, ६ वटा दसैँ खर्च, ७ वर्षको सञ्चयकोष, अस्पतालको गुणस्तरीय सेवा सुविधा सुधार, कर्मचारीउपर गरिएको कारबाही फिर्ता र विगतमा भएका सहमतिको पालना गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *