प्रदेश २ मा मास्क नलगाउने ६५ हजार मानिसलाई कारबाही
टुडेपाटी–
जनकपुरधाम, वैशाख १२ गते ।
प्रदेश २ मा मास्क नलगाउने झण्डै ६५ हजार जनालाई प्रहरीले कारबाही गरेको छ ।
अाठ दिनको अन्तरालमा मास्क नलगाइ बाटो हिड्ने ६४ हजार ९ सय ४४ जनालाई कारबाही गरेको प्रदेश प्रहरी कार्यालयका जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाइले जानकारी दिए ।
उनका अनुसार ४४ हजार ४ सय ५१ जनालाई ३ घण्टा होल्डीङ गरेर सम्झाई बुझाई गरेर छाडिएको, मास्क नलगाउने १६ हजार ९ सय ६९ जनालाई होल्डीङमा राखेर मास्क वितरण गरि छाडिएको छ ।
यस्तै ३ हजार ५ सय २४ जनालाई संक्रामक रोग निवारण ऐन २०२० अन्तर्गत कारवाही गरि प्रतिव्यक्ति १ सयका दरले जरिवाना गरिएको छ ।
Sponsored
उनीहरुबाट ३ लाख ५२ हजार ४ सय रुपैयाँ राजश्व समेत संकलन गरिएको एसपी प्रसाइले बताए ।
नेपाल सरकारद्वारा तोकिएको मापदण्डलाई पुर्ण रुपमा पालना गराउन सबैलाई आ–आफ्नो तर्फबाट महत्वपुर्ण भूमिका हुने भएकोले रेष्टुरेण्ट, पार्टी प्यालेस एवं सभा सम्मेलनमा २५ जना भन्दा बढीलाई भेला नहुन प्रदेश प्रहरी कार्यालयले आग्रह गरेको छ । सरकारद्वारा तोकिएको मापदण्डलाई अटेर गरेमा संक्रमण रोग निवारण ऐन २०२० अनुसार कारवाही गर्ने जनाइएको छ ।
घरबाहिर निस्कदा मास्क नलगाई बाटोमा यात्रा गर्ने र सामाजिक दूरी कायम नगर्नेलाई प्रहरीले कारवाही गर्न थालेको हो ।