भारतमा कोरोना कहर : एकैदिन ३ लाख ४६ हजार ७ सय ८६ जनामा संक्रमण पुष्टि
एजेन्सी-
जनकपुरधाम, वैशाख ११ गते ।
भारतमा कोरोना संक्रमणले प्रत्येक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ४६ हजार ७ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । यो विश्वको कुनै पनि देशमा एकै दिन संक्रमित हुनेको हालसम्मकै बढी हो ।
त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ६ सय २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । विश्वमा उच्च संक्रमण भएका मुलुकमध्ये भारत अमेरिकापछि दोस्रो नम्बरमा छ । भारतमा अहिलेसम्म १ करोड ६६ लाख १० हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५ सय ४४ पुगेको छ भने १ करोड ३८ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २५ लाख ५२ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतले अहिलेसम्म १३ करोड ८३ लाख ७९ हजार ८ सय ३२ डोज कोरोना खोप लगाइसकेको छ ।