कोरोनाको त्रास : तत्यन्तै जरुरी बाहेक प्रचण्डको सबै भेटघाट बन्द, बाबुराम भट्टराई अस्पताल भर्ना
टुडेपाटी
काठमाडौँ, चैत ६ गते ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट कार्यक्रम स्थगित गरेका छन्।
विश्वभर फैलिएको कोभिड –१९ का (कोरोना भाइरस) कारण अत्यावश्यक बाहेक अन्य भेटघाट स्थगित गरेको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिएकी छिन्।
गंगाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।’ बुधबार मात्रै नेकपाको सचिवालय बैठक बसेको थियो।
कोरोना भाइरसको संक्रमण त्रासले आजबाट शुरु हुने तयारी भएको एसईई परीक्षा स्थगित भएको छ। सरकारले कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न बुधबार रोक लगाएको थियो।
त्यस्तै अप्रिल ३० सम्मका लागि सरकारले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम र हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ।
Sponsored
त्यस्तै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ।
यस्तै मुटुमा समस्या भएको महशुष भएपछि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई बुधबार राति बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् ।
राति ७ बजे अस्पताल पुगेका भट्टराईको एन्जियोग्राफ्री लगायतको परीक्षण गरिएको छ । प्रारम्भीक सबै परीक्षण ठीकठाक देखिएपछि उनलाई आजै डिस्चार्जको तयारी भएको उनका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।
‘डा। साब ब्याक पेन र मुटुमा असजिलो भएपछि अस्पताल आउनुभएको थियो,’ पोखरेलले भने, ‘सबै ठीकठाक देखिएकाले आजै घर जाने तयारीमा छौं ।’
भट्टराईको अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीसहितको टोलीले उपचार गरेको थियो । उनलाई चिकित्सकहरुले मसल पेन भनेका छन् । यद्यपि उनको मुटुको चाल चिकित्सकको निगरानीमा राखेर अध्ययन गरिदै छ ।