प्रत्येक स्थानीय तहलाई आइसोलेसन सेन्टर बनाउन प्रदेश २ सरकारको आग्रह गर्ने निर्णय
टुडेपाटी-
जनकपुरधाम, वैशाख ६ गते ।
प्रत्येक स्थानीय तहलाई आइसोलेसन सेन्टर बनाउन प्रदेश २ सरकारले आग्रह गर्ने निर्णय गरेको छ । सोमबार प्रदेशस्तरीय कोभिड-१९ संकट व्यवस्थापन समन्वय समितिको बसेको बैठकबाट हाल बढ्दै गएको संक्रमणको दरलाई दृष्टिगत गर्दै प्रत्येक स्थानीय तहमा कम्तीमा १/१ वटा आइसोलेसन सेन्टर बनाउन स्थानीय तहहरूलाई आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकबाट बढ्दै गएको संक्रमणको नियन्त्रण तथा रोकथामका लागि साबून पानीले हात धुने, सेनिटाइजर प्रयोग र भौतिक दूरी कायम गर्नेलगायतका मापदण्ड पालना गर्न सम्बन्धित निकायलाई जनचेतनामूलक कार्यक्रम गर्न लगाउनेसहितका ५ बुँदे निर्णय गरेको छ ।
यसका साथै जनकपुरधामको मुजेलियास्थित मणिपाल कलेजमा कोभिड अस्पताल निर्माणका लागि माग आधारमा आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट निकासा गर्ने र कोभिड १९ को रोकथाम उपचार तथा नियन्त्रणलाई प्रभावकारी बनाउन स्रोतको कमी हुन नदिन सामाजिक विकास मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
कोभिड-१९ को रोकथाम उपचार तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अस्पताल तथा प्रयोगशालाका लागि आवश्यक जनशक्ति पहिचान गरी जिल्ला संकट व्यवस्थापन समितिको सिफारिससहित व्यवस्थापनका लागि समाजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको बताइएको छ ।
Sponsored