TodayPati

प्रदेश २ को नाम मधेस र राजधानी जनकपुर राख्न जसपा र माओवादी को प्रस्ताव

टुडेपाटी-
जनकपुरधाम, वैशाख ५ गते ।

प्रदेश नम्बर २ को नामकरण र स्थायी राजधानीका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन्।

प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुई–दुई वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

Sponsored

नामकरणका लागि जसपाका प्रदेशसभा सदस्य शैलेन्द्र कुमार यादव र माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत प्रसाद साहले प्रस्ताव दर्ता गराएको छन् । त्यसैगरी राजधानीका लागि जसपाका प्रदेशसभा सदस्य परमेश्‍वर साह र माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत प्रसाद साहले प्रस्ताव दर्ता गराएको सचिव यादवले जानकारी दिए ।

दुवै दलका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।

जसपाका तर्फबाट राजधानी ‘जनकपुरधाम’ को सवालमा परमेश्‍वर साहको प्रस्तावमा प्रदेशसभा सदस्यहरु चमेली देवी दास, सञ्च माया मोक्तान र मीरा कुमारी साहले समर्थन जनाएका छन् भने नामकरण ‘मधेश’ प्रदेशको सवालमा शैलेन्द्र कुमार यादवको प्रस्तावमा प्रदेशसभा सदस्यहरु रानी कुमारी तिवारी र बबिता कुमारीले समर्थन जनाएका छन्।

Sponsored

त्यस्तै, नेकपा माओवादी केन्द्रको तर्फबाट राजधानी ‘जनकपुरधाम’ र नामकरण ‘मधेश’ प्रदेशको सवालमा संसदीय दलका नेता भरत प्रसाद साहले दर्ता गराएको प्रस्तावमा प्रदेशसभा सदस्यहरु जगत प्रसाद यादव र दिलीप कुमार साहले समर्थन जनाएका छन्।

प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको भन्दै कडा आलोचना भइरहेको थियो ।

प्रदेशसभाले बैशाख २ गते प्रदेशको नाम र राजधानीका लागि बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउन आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नामाकरण प्रदेशसभाको दुई तिहाई बहुमतबाट पारित गर्नुपर्ने हुन्छ।

त्यस्तै, राजधानीका लागि सवालमा नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशसभामा तत्काल कायम रहेको दुई तिहाई बहुमतले नै पारित गर्नुपर्छ।

यसअघि विसं २०७६ साल चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि मतदान भएको थियो । तर नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरू मध्ये कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत आउन सकेको थिएन ।

यसअघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेको थियो ।

नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेस नाम प्रस्ताव दर्ता गराएका थिए । तत्कालीन नेकपाले प्रदेशको नाम जानकी प्रस्ताव गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *