TodayPati

धनुषाका अधिकांश पालिकासँग छैन वारुणयन्त्र, आगलागी हुँदा करोडौंको क्षति

राजा झा-
जनकपुरधाम, वैशाख ५ गते ।

जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा पुस ९ गते आगलागी हुँदा अढाइ करोडको क्षति भएको थियो ।

डिपार्टमेन्ट स्टोरमा विद्युत् सर्ट भइ आगलागी भएपछि छेउमै रहेको उपमहानगरपालिकाबाट वारुणयन्त्र नआएपछि करोडौँको क्षति भएको थियो ।

Sponsored

डिपार्टमेन्ट स्टोरमा लागेको आगो निभाउन जनकपुरधाम उपमहानगरको वारुणयन्त्र नआएपछि धनुषाको धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकपुर एयरपोर्ट, महात्तरीको जलेश्वरलगायत स्थानबाट ६ वटा वारुणयन्त्र आएका थिए। समयमा वारुणयन्त्र नआएकै कारण बढी क्षति भएको निष्कर्ष निकालिएको थियो ।

हावाहुरीका कारण भएको आगलगीले लाखौँको क्षति पुर्‍याउँँदै आएको छ भने कतिपयले ज्यानसमेत गुमाएका छन् । तर, यसको तयारी कुनै स्थानीय तहले गरेका छैनन् ।

पछिल्लो तीन वर्षमा २१ जनाले आगलागीमा ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांक छ । यस अवधिमा आगलगीबाट २ सयभन्दा बढी घरपरिवार पीडित छन् । प्रत्येक वर्ष आगलागीको घटना हुँदा पनि स्थानीय तहले यसबाट बँच्न खासै तयारी गरेका छैनन् ।

Sponsored

धनुषामा एक उपमहानगरसहित १८ वटा स्थानीय तह छन्। तर, तीमध्ये १३ वटा स्थानीय तहसँग वारुणयन्त्र छैन। स्थानीय तहसँग आफ्नो वारुणयन्त्र नहुँदा छिमेकी पालिका तथा अन्य जिल्लामा निर्भर हुने गरेको छ । सुक्खा मौसम सुरु भएसँगै विभिन्न स्थानमा आगलगीका घटना हुन थालेका छन् । तर, स्थानीय तह गठनपश्चात् त्यसप्रति अझै ध्यान जान सकेको छैन ।

धनुषामा एउटा उपमहानगरपालिका, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिका छन् । जसमा जनकपुरधाम उपमहानगरपालिका र ५ वटा नगरपालिकासँग मात्र वारुणयन्त्र छ ।

जनकपुरधाम उपमहानगरसँग दुई वटा, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, सबैला नगरपालिका, क्षीरेश्वर नगरपालिका र सहिदनगर नगरपालिकासँग एक–एकवटा वारुणयन्त्र उपलब्ध छ ।

धनुषाको मिथिला नगरपालिका, विदेह नगरपालिका, हंसपुर नगरपालिका, मिथिला विहारी नगरपालिका र कमला नगरपालिकासँग एउटा पनि वारुणयन्त्र छैन ।

मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले आफ्नो पालिकामा एउटा पनि वारुणयन्त्र नहुनुले आगलागीको समयमा समस्या हुने गरेको बताए ।

उनले भने, ‘पालिकामा आगलगीको हुँदा क्षीरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बर्दिवास नगरपालिकाबाट वारुणयन्त्र मगाउने गरेका छौँ ।’

मिथिला विहारी नगरपालिकाका प्रमुख अनिल यादवले आफूहरू वारुणयन्त्रणका लागि नगरसभाबाट निर्णय गरेर संघीय सरकारसँग माग गरे पनि जवाफ नआएको बताए । उनले भने, ‘आफ्नो पालिकामा आगलगी हुँदा धनुषाधाम नगरपालिकासँग समन्वय गरी वारुणयन्त्र ल्याउने गरेका छौँ ।’

हंसपुर नगरपालिकामा समेत वारुणयन्त्र नभएपछि पालिकामा आगलागीको घटना हुँदा जनकपुरधाम र धनुषाधामसँग समन्वय गरेर वारुणयन्त्र ल्याउने गरेको नगरप्रमुख रामज्ञान मण्डलले बताए ।

त्यस्तै, औरही गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, बटेश्वर गाउँपालिका, मुखियापट्टि मुसहरमिया गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र धनौजी गाउँपालिकासँग वारुणयन्त्र छैन ।

यो सबै स्थानीय तह आगलगीको घटनामा अरू पालिकामै निर्भर
छ । वारुणयन्त्र नहुँदा पनि कुनै स्थानीय तहले यसतर्फ चासो देखाएका छैनन् ।

पछिल्लो तीन वर्षमा २१ जनाको मृत्यु, करोडौंको क्षति

धनुषामा पछिल्लो तीन वर्षमा आगलागीमा २१ जनाले ज्यान गुमाएका छन् भने यस अवधिमा करोडौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनले ०७७/०७८ मा आगलागीका कारण ५ जनाले ज्यान गुमाएको र १२ जना घाइते भएको बताए ।

यस अवधिमा आगलागीबाट १ सय ५० परिवार पीडित छन् । चालु वर्षमा आगालगीकै कारण २ करोड ८२ लाख ६९ हजार बराबरको क्षति भएको छ ।

०७६/७७ मा भएको ४० वटा आगलागीका घटनामा ९ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए। सो वर्ष आगलागीकै कारण ७० परिवार आगलगीबाट घरबारविहीन भएका थिए ।

०७६/७७ मा आगालागीबाट ६७ लाख ७० हजार ३ सय ४५ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकअनुसार ०७५/७६ मा आगलागीका कारण ७ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । सो वर्ष आगलागीबाट ८५ लाख ९७ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *