TodayPati

दिलीपको हत्या भएको क्रसर संचालन गर्न उच्च अदालत जनकपुरको आदेश

टुडेपाटी-
जनकपुरधाम, वैशाख १ गते ।

दिलीप हत्याकाण्ड मुद्दाको किनारा नलाग्दै उनको हत्या भएको क्रसर संचालन गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । धनुषाको मिथिला नगरपालिका ५ स्थित चुरियामाई बालुवा प्रशोधन उद्योगलाई संचालन गर्न उच्च अदालतले मंगलबार आदेश दिएको हो ।

सो क्रसरमा २५ पुस २०७६ मा स्थानीय पर्यावरण अभियन्ता २४ वर्षीय ओमप्रकाश भनिने दिलीप महतोको निर्मम तरिकाले हत्या भएको थियो । दिलीप हत्याको मुख्य अभियुक्त क्रसर संचालक विपीन महतोसहित ३ जना अहिले पूर्वपक्षको लागि जेलमा छन् भने चारजना धरौटी तिरेर साधारण तारेखमा रिहा भएका छन् ।

Sponsored

जनकपुरका न्यायाधीश लेखनाथ घिमिरे र रमेश ढकालको संयुक्त इजलासले क्रसर नियमपुर्वक संचालन भए कुनै अवरोध नगर्न आदेश दिएको हो । दिलीप हत्याका मुख्य अभियुक्त क्रसर संचालक विपीनका दाई विनोद कुमार महतोले दायर गरेको रिट उपर सुनुवाई गर्दै उच्च अदालते यस्तो आदेश जारी गरेको हो ।

उक्त क्रसरमा दिलीपको हत्या भएपछि बन्द अवस्थामा छ । थुप्रैपटक संचालन गर्ने प्रयास गरेपनि दिलीपका परिवारले दोषीमाथि कडा कारबाही र न्याय नपाएसम्म क्रसर संचलान गर्न नदिने अडानमा रहेका थिए ।

पछिल्लो पटक अभियुक्त विपीनका दाई विनोदले मृतक दिलीपका बुबा रामजीवन महतोलाई विपक्षी बनाइ क्रसर संचालन गर्न पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।
अदालतले कागजात अनुसार क्रसर कानुन बमोजिम नै देखिएको र मापदण्डको पालन वा अन्य त्रुटि रहेको खण्डमा अधिकार प्राप्त निकाय प्रशासन र स्थानीय तहले अनुगमन गरी वैध रहेको संचालन गर्नदिनु पर्ने नभए कानुन बमोजिम बन्द गराउनु पर्नेबाहेक बाहिर कुनैपनि हस्तक्षेप नगर्न, नगराउन विपक्षीको नाममा अन्तरिम आदेश दिएको हो ।

Sponsored

मुद्दाको किनारा नलाग्दै गम्भीर प्रकृतिको अपराध भएको सो क्रसर संचालन गर्न उच्च अदालतले

आदेश दिएपछि परिवारजनसहित स्थानीय चकित भएका छन् । पर्यावरण अभियन्ता दिलीप घरनजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न सो क्रसरमा लिभरले कोँखमा प्रहार गरी टिपरले किचेर हत्या गरेको थियो ।

अदालले क्रसर संचालन गर्न आदेश दिएपछि दिलीपका परिवार आँतिएका छन् । दिलीपकी बहिनी लक्ष्मी महतोले आफ्नो दाई र परिवारमाथि थप अन्याय भएको गुनासो गरेकी छन् ।

‘दाईले अझैसम्म न्याय पाउनु भएको छैन । दोषीहरुमाथि कारबाही भएको छैन । तर दाइको निर्मम तरिकाले हत्या भएको सो क्रसर संचालन गर्न उच्च अदालले यस्तो आदेश कसरी दियो ?’ उनले भनिन् ‘यो आदेशले हाम्रो परिवारमाथि थप बज्रपात भएको छ । अपराधीको मनोबल झनै बढ्छ । हामीलाई पनि बाँच्नै गह्रो भयो ।’

उच्च अदालतमा रिट दायर गरेका विनोद दिलीप हत्या पश्चात एकवर्षसम्म बेपत्ता भएका थिए । उनको पनि घटनामा संलग्नता रहेको दिलीपको परिवारको आशंका छ । तर कसरी उनी यति चाँडै खुल्लेआम घुमघाम गर्दै क्रसर संचालन गर्ने आँट गरे विषयमा दिलीपका परिवार आश्चर्यचकित छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *