धनुषामा SEE को प्रवेश-पत्र दिन घुसलिने हेडमास्टर अख्तियारको फन्दामा
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, चैत ५ गते ।
धनुषामा एक प्रधानाध्यापक घुससहित अख्तियारको फन्दामा परेका छन् । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतो बुधबार दिउँसो घुससहित रंगेहात अख्तियारको फन्दामा परेका हुन् ।
एसईईका एक परीक्षार्थीलाई प्रवेश पत्र उपलब्ध गराउन दुईहजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो । बिहीबारदेखि सुरु हुन लागेको एसईई परीक्षाको फारम अघि नभरेको बहाना बनाउँदै प्रअ महतोले प्रवेश पत्र उपलब्ध गराउन एक परीक्षार्थीबाट २ हजार रुपैयाँ घुस लिदै गर्दा उनलाई अख्तियारले पक्राउ गरेको छ ।
घटनास्थलमै मुचुल्का तयार गरी प्रअ महतोलाई नगद र प्रमाणसहित नियन्त्रणमा लिएको र भ्रष्टाचार निवारण ऐन अनुसार विषेश अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको अख्तियारले जनाएको छ । श्रोतका अनुसार प्रअ महतोले अन्य विद्यार्थीबाट समेत यस्तै बहानामा प्रवेश पत्र उपलब्ध गराउन घुस लिएका छन् ।