राजस्थानका विस्फोटक ब्याट्सम्यान बेन स्टोक्स किन आईपीएलबाट बाहिरिए
टुडेपाटी-
जनकपुरधाम, वैशाख १ गते ।
राजस्थान रोयल्सका विस्फोटक ब्याट्सम्यान बेन स्टोक्स जारी इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटबाट बाहिरिएका छन् । बायाँ हातको औँला भाँच्चिएपछि यी अलराउण्डरले प्रतियोगिताका बाँकी खेलहरु खेल्न नसक्ने भएका हुन् ।
प्रतियोगिताअन्तर्गत किङ्स इलेभेनविरुद्ध भएको पहिलो खेलमा क्रिस गेललाई क्याच आउट गर्न खोज्दा डाइभ गर्नेक्रममा स्टोक्सको औँलामा चोट लागेको थियो । राजस्थानले स्टोक्सले बाँकी खेलमा मैदानबाहिर रहेर टोलीलाई सहयोग गर्ने जनाएको छ । उनको स्थान लिने खेलाडीको बारेमा राजस्थानले कुनै निर्णय गरिसकेको छैन ।
स्टोक्सको चोटले इङ्ल्यान्डलाई समेत घाटा हुने देखिएको छ । इङ्ल्यान्डले आगामी जुनको पहिलो सातादेखि न्युजिल्यान्डसँग दुई खेलको टेस्ट शृंखला र भारतसँग पाँच खेलको टेस्ट शृंखला खेल्ने कार्यक्रम छ । त्यसपछि टीट्वेन्टी विश्वकप हुँदैछ ।
इङ्ल्यान्डले गत एकदिवशीय विश्वकप जित्दा फाइनलमा स्टोक्सको प्रदर्शन निर्णायक रहेको थियो । २९ वर्षीय स्टोक्सले टेस्टमा १० सतक र २४ अर्धसतक, एकदिवशीयमा ३ सतक र २१ अर्धसतक तथा टीट्वेन्टी क्रिकेटमा २ सतक र १० अर्धसतक बनाएका छन् । राजस्थानले यो सिजनका लागि स्टोक्सलाई साढे १४ करोड भारतीय रुपैयाँमा आबद्ध गरेको थियो ।
Sponsored