प्रदेश २ मा कोरोना संक्रमणदर दिनहुँ बढ्दो तर जनता र सरकार दुबै बेपरबाह
टुडेपाटी-
जनकपुरधाम, चैत ३१ गते ।
स्वास्थ्य सतर्कताको ख्यालै नगरिएका कारण प्रदेश २ मा पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ ।
छिमेकी मुलुक भारतमा उच्च दरमा संक्रमित बढेपनि खुल्ला सिमासंग जोडिएको प्रदेश २ को ८ वटै जिल्लामा सतर्कता नअपनाइँदा संक्रमित दर फेरि उच्च हुनसक्ने चिकित्सकहरुको अनुमान छ ।
समाजिक विकास मन्त्रालयका अनुसार अहिले न्यून संख्यामा पिसिआर परिक्षण गराउनेमा करिब आधाको हाराहारीमा संक्रमित देखिएका छन् ।
सोमवार मात्र वीरगंज पिसिआर ल्याबमा ६० जनाको स्वाब परिक्षण गर्दा २८ र सिरहामा १२ जनामा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । थपिएका संक्रमितमध्ये धनुषाका एक, महोत्तरीमा दुई, बाराका ५ र पर्साका २३ जना छन् ।
Sponsored
त्यसअघि आइतवार जनकपुरको ल्याबमा ९ जनाको पिसिआर परिक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैगरी शनिबार प्रदेश २ का बिभिन्न जिल्लामा १५ जना नयाँ संक्रमित फेला परेको थियो ।
शुक्रबार भने संक्रमितको संख्या १२ र बिहीबार भने १५ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । शनिबार थपिएका १५ जना संक्रमित पर्सा र वाराका हुन् । वारामा ५ र पर्सामा १० जना संक्रमित थपिएको हो ।
चिकित्सकहरुका अनुसार कोरोना भाइरसको नयाँ भेरियेन्टले कम उमेरका व्यक्ति बढी संक्रमित भइरहेकाले सर्तक रहन सुझाएका छन् । जनकपुरका वरिष्ठ चिकित्सक विजयकुमार सिंहका अनुसार थोरै संख्यामा भइरहेको परिक्षणमा धेरै संख्यामा संक्रमित देखिनु शुभ संकेत छैन् ।
अहिले संक्रमित भइरहेकाहरुमा कम उमेरका बढी रहेकाले सर्तकता अपनाउनुवाहेकको विकल्प नरहेको उनले बताए ।
‘कोरोना भाइरसको परिक्षण जुन गतिमा हुनुपथ्र्यो, त्यो भएकै छैन । जनता पनि वेपरवाह छन् । सरकारी सम्बन्धीत पक्ष पनि मतलबै राखेको देखिन्न । न सरकारलाई चिन्ता छ न जनतालाई,’ डा. सिंहले भने, ‘ जनता त के चाहन्छन, खानापिना, रोजगारी । तर, यी सबथोक पनि संकटमा परिदिन्छ । यधपी, सरकारले चेतावनी दिनुपर्छ कि सर्तकता अपनाउनुस । यी सबै प्रयास अहिले शुन्यको अवस्थामा देखिन्छ ।’