वीरगन्जमा एकैदिन २८ जनामा कोरोना संक्रमण पुष्टि
टुडेपाटी–
वीरगन्ज, चैत २९ गते ।
पर्सामा आइतबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६० जनाको स्वाब परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २३ जना पर्साका र ५ जना बाराका रहेका छन् ।
पछिल्लो समय देखिएको संक्रमितमध्ये अधिकांश बालबालिका, किशोर किशोरी र युवा उमेर समूहका छन् । उमेर समूह हेर्दा १४ देखि ४५ वर्ष उमेर समूहका बढी संक्रमित छन् । घर बाहिर बढी हिँडडुल गर्ने, विद्यालय, कलेज, बजार तथा विभिन्न रोजगारी प्रयोजनमा भिडभाडमा पुग्ने समूहमा संक्रमण बढी देखिएको छ ।
कोरोना संक्रमण घट्न थालेपछि सर्वसाधारणले मास्क लगाउन छोडेका छन् । विद्यालय, कलेजहरु पूर्ण रुपमा खुलिसकेको, सार्वजनिक यातायात चलिसकेको, सार्वजनिक स्थलहरुमा अत्यधिक भिडभाड भइरहेको र मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने जस्ता सुरक्षाका उपायहरुको अवलम्बन नभएकाले फेरि संक्रमण फैलिने जोखिम छ ।
नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास कोरोना विस्तारै समुदायमा फैलिरहेको संकेत मिलेको बताउँछन् । उनले फेला परेका संक्रमितहरु युवा अवस्थाका बढी रहेको बताए ।
Sponsored