सिरहामा फेरि डाक्टरको लापरबाहीले बिरामीको मृत्यु, अस्पतालमा नाराबाजी
टुडेपाटी-
सिरहा, चैत २९ गते ।
सिरहामा चिकित्सकको लापरबाहीले फेरि एकजना बिरामीको मृत्यु भएको छ । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा सखुवानान्कारकट्टी गाउँपालिका-२ की ३५ वर्षीय रामवती यादवको आइतबार अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालकै लापरबाहीले बिरामीको मृत्यु भएको परिवारजनले आरोप लगाएको छ । बिरामीको मृत्यु भएपछि आफन्तहरूले घटनाको छानबिन, दोषी चिकित्सकमाथि कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति तथा अस्पतालको लाइसेन्स खारेजीको माग गर्दै अस्पतालमा नाराबाजी गरेका छन् ।
मृतकका आफन्तले घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने पनि अडान लिएका छन् । ड्याबिटीजकी बिरामी रामवती २६ चैतमा अस्पतालमा भर्ना भएकी थिइन् । बिरामीको स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले आइतबार रिफर गर्ने तयारी गरेको मृतकका छोरा कृष्ण यादवले जानकारी दिए ।
‘आमाको स्वास्थ्यमा सुधार नदेखिएपछि हामीले पटक-पटक अन्य अस्पतालमा रिफर गरिदिन आग्रह गर्यौं,’ उनले भने, ‘तर, चिकित्सकले पैसा कमाउने बहाना बनाई रिफर गर्न चाहदैनथें, अन्तिम अवस्थामा रिफर गर्यो तर अस्पतालबाट बाहिर ल्याउँदा ल्याउँदै ज्यान गयो ।’
यता अस्पतालका चिकित्सक सन्देश रौनियारले भने बिरामीका आफन्तले भनेअनुसार नै आफूहरूले बाहिर रिफर गरिदिएको दाबी गरे । चिकित्सकहरूले उपचारमा लापरबाही नगरेको अस्पतालको दाबी छ ।
Sponsored
गत चैत १२ गते बिहीबार राति सिरहाको नरहा गाउँपालिका–३, चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको थियो । चिकित्सकले सही उपचार नगर्दा र समयमै अन्यत्र उपचारको लागि रिफर नगर्दा नरहा गाउँपालिका ३ डन्डाटोलका ६४ वर्षीय राम सुफल महतोको मृत्यु भएको थियोे ।