अफगानिस्तानमा भएका हिंसात्मक घटनामा ९२ जनाको मृत्यु
टुडेपाटी-
काबुल, चैत २८ गते ।
अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ। स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरूले शनिवार दिएको जानकारी अनुसार शुक्रवार बिहान भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा भएका घटनाहरूमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको विवरण हामीलाई प्राप्त भएको छ, एक सुरक्षा अधिकारीले बताए ।
घटनामा परी मृत्यु भएका मध्ये दुई जना आम नागरिक, २७ जना अफगानिस्तान राष्ट्रिय सुरक्षा दलका सुरक्षाकर्मी र ६३ जना तालीवान् लडाकुहरू रहेको पनि साक्षर अधिकारीहरूले पुष्टि गरेका छन् ।
घटनामा परेका मध्ये ५१ जना तालीवान् लडाकुहरू र सात जना सुरक्षाकर्मीहरू घाइते पनि भएको जनाइएको छ । अफगानिस्तानमा गत करिब चार दशकदेखि द्वन्द्व जारी छ। अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको अगुवाइ गरिरहेको छ ।
अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ । सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिबान सत्तालाई हटाइदिएको थियो ।
Sponsored
अफगानिस्तानमा करिब १४ हजार अमेरिकी सेना रहेकोमा अहिले घटाउँदै करिब २५ सयमा झारिएको छ । थप घटाउने की बढाउने भन्ने बारेमा जो बाइडेन नेतृत्वको नयाँ अमेरिकी प्रशासनले अहिले समीक्षा गरिरहेको छ । अफगानिस्तानमा अमेरिकी बाहेक ब्रिटेन, जर्मनी, इटली जस्ता मुलुकबाट समेत हजारौँको सङ्ख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले अफगान फौजलाई सल्लाह र सहायता दिँदै आएका छन् । पछिल्ला वर्षहरूमा सुरक्षाका गम्भीर घटनाहरूमा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ । सिन्हा