प्रदेश २ : ५ वर्षमा पनि बन्न सकेन तिलावे पुल, ठेकेदारको बदमासीले स्थानीयलाई सास्ती
टुडेपाटी-
वीरगञ्ज, चैत २८ गते ।
पर्साको तिलावे पुल लामो समयदेखि बन्न नसक्दा स्थानीयलाई सास्ती खेप्नु परेको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ५ वर्षअघि उक्त पुलको शिलान्यास गरेका थिए । तर, सोचे अनुरुप प्रगति नहुँदा स्थानीयले पुलको बाटो भएर आवतजावत गर्दा सास्ती खेप्नु परेको हो ।
पोखरीयाका स्थानीय रामएकबाल साहका अनुसार वीरगंज आउने जाने क्रममा पुल क्षेत्रको करिब एक किलोमिटरको डाइभर्सनको बाटो पार गर्दा निकै कष्ट हुने गरेको छ । अहिले गर्मीको मौसममा डाइभर्सनको बाटोमा पुलको ठेकेदारले पानी छर्किनु पर्ने भएपनि नछर्केको उनले बताए । जसको कारण खाल्डाखुल्डी र धुलाम्मे यात्रा गर्न यात्रुहरु बाध्य बनेको उनले जानकारी दिए ।
पुल निर्माणकर्ता ठेकेदार कम्पनी पप्पु/लुम्बिनी जेभीले उक्त काम ठेक्का लिएको हो । ७ करोडको सडक विभागको बजेटमा निर्माण हुने पुलको कार्य सोचे अनुरुप गतिमा अघि बढेको छैन । डाइभर्सनमा ठाउँठाउँमा खाल्डाखुल्डी भएको र अत्यधिक धुलो उड्दा साइकल, मोटरसाइकल र अन्य सवारी सधानको दुर्घटना हुने जोखिम पनि बढेको छ ।
यस विषयमा ठेकेदार कम्पनीका प्रतिनिधि सुमित रौनियारले आगामी असारसम्म पुलको काम सम्पन्न हुने अन्तिम म्याद रहेकोले सो अवधिसम्म पुलको काम पूरा गर्ने आश्वासन दिए । डाइभर्सन निर्माणको लागि २६ लाख रुपैयाँ सडक विभागसँग माग गरिएकोमा विभागले बजेट दिन रोक लगाएकोले डाईभर्सनको काम राम्रोसँग गर्न नसकेको र त्यसै कारण अहिलेको समस्या उब्जेको उनको भनाइ छ ।
उनले पुलको स्पानको काम पूरा भई करिब ८० प्रतिशत काम सकिएको दावी गरे । सो डाइभर्सनमा तिलावे खोलाको पानी बगाउन राखिएको दुई वटा ह्यूम पाइप पनि भारी मालबाहक सवारी साधन गुड्दा भाँचिएको र जुन बेला पनि पाइप फुटेर बाटो अवरुद्ध हुने अवस्था सिर्जना हुँदै गएको यात्रुहरुले बताउँछन् ।
Sponsored