TodayPati

प्रदेश २ : नदी प्रदूषित भएपछि चक्काजाम, सरोकारवाला निकायप्रति स्थानीयको व्यापक गुनासो

टुडेपाटी-
वीरगञ्ज, चैत २७ गते ।

पर्साको सिर्सिया नदी अति प्रदूषित भएपछि दबाब स्वरुप चक्काजाम गरिएको छ । वीरगञ्जको रानीघाट र रामगढवा क्षेत्रका बासिन्दाले शुक्रबार चक्काजाम गरेका हुन् ।

रामघाट छठ समितिको आह्वानमा शुक्रबार विहान ८ बजेदेखि आधा घण्टा चक्काजाम गरिएको हो । उनीहरुले रानीघाट र रामगढवा जोड्ने सिर्सिया नदीको पुलमा व्यानरसहित बाटो छेकेर बसेका थिए ।

Sponsored

चक्काजाममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले दुईवटा व्यानर खोसेर लगेको चक्काजाममा सहभागी वृजेश्वर चौधरीले जानकारी दिए । ‘विहान ८ बजेदेखि ९ बजेसम्म रामगढवा र रानीघाट जोड्ने सिरसिया नदीको पुलमा एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरेका थियौं,’ उनले भने, ‘तर प्रहरीले हस्तक्षेप गरेर व्यानर खोसेर लगिदिए । तैपनि हाम्रो उद्देश्य पूरा भयो भन्ने लागेको छ ।’

उनका अनुसार प्रहरी चौकी रानीघाट र वडा प्रहरी कार्यालय श्रीपुरले १–१ वटा ब्यानर खोसेर लगे पनि पछि फिर्ता गरेका थिए । छठ समितिका अध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मीले सिर्सिया नदी बचाउन दबाब दिने उद्देश्यले कार्यक्रम राखिएको बताए ।

‘चक्काजाम शुरु गरेको आधा घण्टामा प्रहरीले आएर हस्तक्षेप ग¥यो । व्यानर नै खोसिदियो,’ उनले भने, ‘राजनीतिक आन्दोलन थिएन, भिडन्त गर्ने कुरा पनि भएन । त्यसपछि हामी घर फर्कियौं ।’

Sponsored

नदी प्रदूषणको मुद्दामा सरकार वादी हुने भएकाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी आफूहरुले गरेको उनको भनाइ छ ।

बढ्दो औद्योगिकरणसँगै वीरगञ्ज महानगरपालिकाको मध्यभाग भई बग्ने सिर्सिया नदी प्रदूषणको चपेटामा परेको छ । प्रदूषणका कारण साँस्कृतिक धरोहरको रुपमा रहेको सिर्सिया नदीमा जलचर लोप भएका छन् भने पानी प्रदूषित भई दुर्घन्धित पनि छ ।

वीरगञ्जमा नदी प्रदूषणमुक्त गराउनका लागि बैठक, गोष्ठी, अन्तरक्रिया धर्ना, हस्ताक्षर संकलन हुँदै आएको छ । तर नदीमा विद्यमान प्रदूषणमा कमी आउन सकेको छैन ।

प्रधानमन्त्री, प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, वडा अध्यक्ष लगायत विभिन्न सरोकारवालालाई ध्यानाकर्षण गराउँदा समेत नदी सफाइमा ध्यान नदिइएको स्थानीयले गुनासो गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *