प्रदेश २ को नाम र राजधानी दुवै फेल
टुडेपाटी
जनकपुरधाम, चैत ५ गते ।
प्रदेश २ को राजधानी जनकपुरधाम तोक्ने सर्वदलीय सहमतिसहितको संयुक्त प्रस्ताव समेत खारेज भएको छ ।
सो प्रस्तावको पक्षमा ५२ मत मात्र प्राप्त भएपछि अस्वीकृत भएको हो । प्रस्तावको विपक्षमा पनि ५२ मत परेको छ। ३ मत बदर भएको छ ।
आजै यसअघि प्रदेशको स्थायी नामाकरण गर्न भएको मतदानमा मधेश नाममा दुईतिहाई नपुगेपछि पर्सा, बारा, रौतहट र सप्तरीका समाजवादी र राजपाका सांसदहरू रुष्ट भएका थिए ।
तीमध्ये अधिकांशले जनकपुरधाम राजधानी तोक्ने प्रस्तावको विपक्षमा मतदान गरेको बताइएको छ ।
Sponsored
स्थायी नाम र राजधानी तोक्न कुनै प्रस्तावको पक्षमा प्रदेश सभाकाे दुईतिहाई बहुमत प्राप्त हुनुपर्छ । सो मत नपुगेसम्म क्रमशः अन्य प्रस्तावित नाममा मतदान हुनेछ । अब नाम र राजधानी तोक्ने दुवै प्रयोजनका लागि नयाँ प्रक्रिया सुरु हुने भएको छ ।
प्रदेश २ सभामा जम्मा १ सय ७ प्रदेश सांसद छन । प्रदेश सभामा नेकपा ३२, सत्तारुढ समाजवादी पार्टी ३०, सत्ता साझेदार राजपा २५, प्रतिपक्षी कांग्रेसको १९ र १ जना स्वतन्त्र सांसद छन ।
नाम र राजधानी टुंगो लगाउन बसेको प्रदेश सभा बैठक मंगलबार मध्य १ बजे रातिसम्म चलेको थियो । मतदान प्रक्रियाबाट पनि प्रदेशको नाम र राजधानी नटुंगेपछि बैठक चैत ६ गते बिहिवारसम्मको लागि स्थगित भएको छ ।