जनकपुरसहित देशभर पत्रकार महासंघको निर्वाचन जारी
टुडेपाटी-
जनकपुरधाम, चैत २५ गते ।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । जनकपुरसहित देशभर सबै जिल्लाहरुमा मतदान चलिरहेको छ ।
देशभर करिब १३ हजार ५०० सय मतदाता रहेका छन् । पत्रकार महासंघ केन्द्रका लागि दुई प्यानल र थुप्रै स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।
आगामी तीन वर्षे कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा केन्द्रका नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टर, एमाले निकट प्रेस चौतारीको नेपाल खनाल पक्ष लगायतले विपुल पोखरेलको अध्यक्षतामा गठबन्धन बनाएका छन् ।
त्यसैगरी ओलीनिकट प्रेस चौतारीले तर्फबाट निर्मला शर्माको नेतृत्वमा प्यानल बनाएको छ ।
प्रदेश तथा जिल्लामा पनि पार्टी सम्वद्ध पत्रकार संगठनले केन्द्रकै गठबन्धन अनुसार प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
Sponsored
केन्द्रको अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्र बुढाथोकीले उम्मेदवारी दिएका छन् ।
पत्रकार महासंघको इतिहासमा पहिलो पटक केन्द्रीय नेतृत्व चयनका लागि देशभरका पत्रकारहरुले प्रत्यक्ष मतदान गर्न पाएका हुन् । यसअघि जिल्ला, प्रदेश, प्रतिष्ठान, एसोसिएट लगायतबाट चुनिएर आएका सीमित पार्षदले मात्रै केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्न पाउँथे ।