कोरोना संक्रमण रोकथाममा जुट्यो प्रदेश सरकार, नियन्त्रणकालागि मुख्यमन्त्री राउतको यस्तो निर्देशन
टुडेपाटी-
जनकपुरधाम, चैत २३ गते ।
मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९ को संक्रमण फैलिन नदिनको लागि आवश्यक तयारी अगाडी बढाउन सरोकारबालाहरुलाई निर्देशन दिएका छन् ।
कोभिड–१९ उपचार, रोकथाम तथा नियन्त्रणबारे आज जनकपुरमा बसेको प्रदेशस्तरीय बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
तत्कालै आत्तिनुपर्ने अवस्था नरहेपनि उच्च सतर्कतमा बस्न उनले सरोकारबालाहरुलाई निर्देशन दिए ।
छिमेकी राष्ट्र भारतमा तीव्र गतिमा कोभिड–१९ संक्रमितको संख्या बढिरहेकोले यसको चपेटामा आउने जोखिम बढेको उको भनाइ थियो ।
सीमानाकामा आवश्यक सतर्कता अपनाउन उहाँले सुरक्षानिकायका प्रमुखहरुलाई मुख्यमन्त्री राउतले निर्देशन दिए ।
Sponsored
अघिल्लो पटक पर्सा, सप्तरी लगायतको जिल्लाहरुमा नयाँ संक्रमित फेला परेको छ ।
विगतमा भएको त्रुटीहरु सुधार गर्दै थप प्रभावकारी तरिकाले तयारी अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।
उनले जनकपुरको मणिपालमा सय शैय्याको कोभिड अस्पताल खडा गर्नको लागि आवश्यक तयारी गरिने जानकारी दिए ।
‘कोभिड विरुद्धको अभियान अगाडी बढाउनुस्, ‘ उनले भने, ‘यसको लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्न तयार छ ।’
कोरोना कालमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुको तलब, भत्ता केही दिनभित्रै उपलब्ध गराउने उहाँले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमार्पmत सर्वसाधारणलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउने उनले बताए । कोेभिड–१९ को जोखिमबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न मुख्यमन्त्री राउतले सबैमा अपील समेत गरेका छन् ।
समाजिक दूरी कायम गरेर दैनिक कामकाज गर्नुका साथै अनावश्यक भिडभाड नगर्न उनले आग्रह गरे ।
समाजिक विकास मन्त्री नवल किशोर साहले कोभिड–१९ महामारी विरुद्धको अभियानमा स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
उनीहरुको अथक प्रयासले प्रदेशमा कोभिड–१९ महामारी विरुद्धको अभियानमा सफल भएको मन्त्री साहको तर्क थियो ।
मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले कोभिड–१९ विरुद्धको अभियानमा देखिएको समस्याहरु तत्काल समाधान गर्नको लागि आग्रह गरे ।