प्रदेश २ मा चिनी काण्ड : चौथोपटकको परीक्षणमा पनि अखाद्य ठहरेपछि ७२ हजार केजी चिनी नष्ट हुँदै
टुडेपाटी-
बारा, चैत २१ गते ।
१ वर्षअघि राजस्व अनुसन्धान कार्यालय पथलैयामा अख्तियारले छापामारी गरी नियन्त्रणमा लिएको ७२ हजार केजी अखाद्य चिनी अन्ततः नष्ट हुने भएको छ । व्यवसायीहरूको चर्को दबाबमा १ वर्षदेखि पटकपटक नमुना परीक्षण गरेर सेवनयोग्य बनाउने चलखेल गरिएको उक्त अखाद्य चिनी आउँदो सोमबार (चैत २३ गते) नष्ट हुने भएको हो ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले चौथोपटक पठाएको नमुना परीक्षणको प्रतिवेदनमा पनि सेवन गर्न अयोग्य भनी प्रमाणित भएपछि अन्ततः सो चिनी ९ नष्ट गर्न लागिएको हो ।
राजस्वले पठाएको नमुनाका आधारमा खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनी प्रमाणित गरेको थियो । खाद्यको प्रतिवेदनका आधारमा राजस्व अनुसन्धान विभागले चैत ६ गते पथलैयालाई पत्र पठाएर सो चिनी नष्ट गर्न अनुमति दिएको हो । ७२ हजार केजी चिनी १ वर्षदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयाको गोदाममा थन्किएको छ ।
२०७६ फागुन २५ गते खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले उपभोग मिति समाप्त भनेको भारतिय चिनीमिलेमतोमा जलेश्वर भन्सारबाट नेपाल भित्रिएको थियो ।
चिनी लिलाम बिक्री प्रकियाअन्तर्गत राजस्वले फागुन १३ गते नमुना परीक्षणका लागि जनकपुर पठाएको हो । चौथोपटक गरिएको नमुना परीक्षणमा पनि सेवन गर्न अयोग्य प्रमाणित भएपछि सो चिनी राजस्वले सोमबार नष्ट गर्ने जनाएको छ ।
Sponsored
राजस्व अनुसन्धान पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक पाण्डेले सेवन गर्न अयोग्य प्रमाणित भएको चिनीलाई अदालतले आवश्यक व्यवस्थापन गर्नु भनेकोले चिनी नष्ट गर्न लागिएको बताए ।
‘सोमबार सरोकारवाला निकायसँग छलफल गरेर मानिसले पुन: प्रयोग गर्न नमिल्ने गरी व्यवस्थापन गर्छौ,’ प्रमुख अनुसन्धान अधिकृत पाण्डेले भने ।
एक वर्षअघि भारतको उत्तरप्रदेशबाट जलेश्वर भन्सारको बाटो हुँदै नेपाल भित्रिएको अखाद्य चिनी नेपाल भित्र्याउने व्यवसायी र त्यसमा संग्लन कर्मचारीलाई कारबाही गर्न समेत उपभोक्ता हित संरक्षण मञ्चले माग गरेको छ ।