TodayPati

८ महिनामा प्रतिव्यक्ति ५ हजार रुपैयाँ ऋण थपियो, नेपालको जम्मा सार्वजनिक ऋण कति ?

टुडेपाटी-
काठमाडौं, चैत २० गते ।

चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनाको अवधिमा  प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सरकारले चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुनसम्म) को अवधिमा कुल १ खर्ब ९२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सार्वजनिक ऋणको सावाँ र व्याज भुक्तानीमा ३८ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।

Sponsored

यसआधारमा हेर्दा चालु आवको पहिलो ८ महिनामा खुद सार्वजनिक ऋण थप १ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ भएको छ । यो ऋणलाई प्रत्येक नेपालीको टाउकोमा भाग लगाउँदा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थप भएको हो ।

नेपालको जनसंख्या ३ करोड मान्दा यसअवधिमा प्रत्येक नेपालीको टाउकोमा उक्त परिमाण बराबरको ऋण थप भएको हो । वर्तमान सरकार आएसँगै आर्थिक स्रोतको महत्वपूर्ण माध्यमका रुपमा सार्वजनिक ऋण परिचालन भएको देखिएको छ ।

१५ खर्ब ७३ अर्ब रुपैयाँ सार्वजनिक ऋण

Sponsored

अर्थ मन्त्रालयको तथ्यांक अनुसार २०७७ असार मसान्तसम्म खुद तिर्न सार्वजनिक ऋण १४ खर्ब १९ अर्ब ८८ करोड रहेको थियो । चालु आवको ८ महिनाको अवधिमा १ खर्ब ५३ अर्ब ऋण थपिएसँगै अब नेपालको खुद सार्वजनिक ऋण भने १५ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

यो ऋणलाई जनसंख्याको अनुपातमा हिसाब गर्दा प्रतिव्यक्ति ऋण ५२ हजार ४ सय ५२ रुपैयाँ पुगेको छ । सरकारले असार मसान्तसम्म आन्तरिक ऋण ६ खर्ब १३ अर्ब ७४ करोड लिएकोमा चालु आवको ८ महिनामा १ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ ऋण लिएको छ ।

८ महिनामा आन्तरिक ऋणको सावा फिर्ता भुक्तानीमा ८ अर्ब २२ करोड र ब्याज भुक्तानीमा १५ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । असार मसान्तसम्म बाह्य ऋण ८ खर्ब ६ अर्ब १४ करोड रुपैयाँ रहेकोमा ८ महिनाको अवधिमा ७९ अर्ब ९० करोड ९१ लाख रुपैयाँ बाह्य ऋण थपिएको छ । यस अवधिमा वैदेशिक ऋण फिर्ता १२ अर्ब ५ करोड र ब्याज भुक्तानीमा ३ अर्ब ४८ करोड रुपैयाँ भएको छ ।

यस्तो छ नेपालको सार्वजनिक ऋण

क्र.सं२०७७ असार मसान्तसम्मचालु आवको फागुन मसान्त सम्म थपचालु आवको फागुन मसान्त सम्म सावा र ब्याज फिर्ताचालु आवको फागुन मसान्त सम्म खुद
आन्तरिक ऋण (रुपैयाँ)६ खर्ब १३ अर्ब ७४ करोड१ खर्ब १२ अर्ब ५१ करोड२३ अर्ब ३१ करोड७ खर्ब २ अर्ब ९४ करोड
बाह्य ऋण (रुपैयाँ)८ खर्ब ६ अर्ब १४ करोड७९ अर्ब ९० करोड१५ अर्ब ४० करोड८ खर्ब ७० अर्ब ६४ करोड
कुल (रुपैयाँ)१४ खर्ब १९ अर्ब ८८ करोड१ खर्ब ९२ अर्ब ४२ करोड३८ अर्ब ७१ करोड१५ खर्ब ७३ अर्ब ५८ करोड

एक वर्षमा ५ खर्ब २४ अर्ब ऋण लिने लक्ष्य

सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब २४ अर्ब ५० करोड सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । यो वर्ष सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट कार्यान्वयन गरिहेको छ । यसमा संघीय बजेटका लागि राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ परिपूर्ति हुनेछ । न्यून हुने ५ खर्ब २४ अर्ब मध्ये ६० अर्ब ५२ करोड वैदेशिक अनुदान, २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण र २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट परिपूर्ति गर्ने लक्ष्य चालु आवको बजेटले लिएको छ ।

अनलाइनखबर

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *