प्रदेश २ को नाम र स्थायी राजधानी टुंगो लगाउन आज मतदान
टुडेपाटी-
जनकपुरधाम, चैत ४ गते ।
प्रदेश २ को स्थायी राजधानी र नामाकरण टुंगो लगाउन आज प्रदेश २ सभामा मतदान हुने भएको छ । राजधानीको बिषयमा सहमति जुटेपनि नाममा सत्तारुढ र प्रतिपक्षी दलबीच विवाद हुँदा मतदानबाट टुंगो लगाउन लागिएको हो ।
मतदानको लागि आज बिहान ८ बजे नै प्रदेशसभा बैठक डाकिएको प्रदेशसभा २ सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
प्रदेशको राजधानी र नाम सम्बन्धमा बिभिन्न दल तथा सांसदले गत भदौ ५ गते प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए ।
सबै दलले राजधानीको रुपमा जनकपुरधामलाई नै प्रस्ताव गरेपनि नाम भने फरक फरक पस्ताव गरेका छन ।
सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेको छ भने प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘जानकी प्रदेश’ र नेपाली काँग्रेसले ‘मिथिला भोजपुरा प्रदेश’ नाम राख्न प्रस्ताव गरेको छ ।
Sponsored
नाम र राजधानी सहमतिमै टुंगो लगाउन र प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको बैठकबाट सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय विशेष समिति गठन गरिएको थियो ।
विशेष समितिमा दलहरुबीच स्थायी रजाधानीमा जनकपुरधाममा सहमति भइसकेको छ ।
तर नाममा दलहरुले आ–आफ्नै अडान दोहोर्याएपछि मतदान गर्न लागिएको हो ।
विशेष समितिले फागुन २९ गते प्रदेशसभामा प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा नाम र रजाधानी बिधिप्रक्रिया मार्फत टुंगो लगाउन मतदानमै जान सुझाब दिइएको छ ।
प्रदेशसभामा रहेका सदस्य संख्याको दुईतिहाई बहुमतले प्रदेशको नाम र राजधानी टुंगो लगाउन सकिने संवैधानिक व्यवस्था छ ।
प्रदेश २ को प्रदेशसभामा १ सय ७ सांसद छन। सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, सत्ता साझेदार राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र एक स्वतन्त्र सांसद छन ।