TodayPati

म्यानमारमा प्रदर्शनकारीमाथि गोलीको वर्षा : बालबालिका सहित १ सय १४ जनाको ज्यान गयो

एजेन्सी-

जनकपुरधाम, चैत १५ गते ।

म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध शनिबार गरिएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा दर्जनौं प्रदर्शनकारी मारिएका छन् ।

Sponsored

प्रदर्शनमा ११४ जना मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘म्यान्मार नाउ’ अनलाइनले १३ वर्षीया किशोरीसहित कम्तीमा ११४ जना मारिएको उल्लेख गरेको छ । प्रदर्शनका क्रममा २० जनाभन्दा बढी बालबालिका मारिएका छन् भने हालसम्म मारिएकाको संख्या ४ सय नाघेको छ ।

सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् तर उनले चुनावको मितिबारे केही उल्लेख नगरेको बीबीसीले जनाएको छ ।

Sponsored

३० मिनेट लामो भाषणका क्रममा ह्यालिङले ‘सेनाले म्यान्मारका जनतालाई बचाउने र लोकतन्त्रप्रति उनीहरूको तिर्खा मेटाउने’ जनाएका थिए ।

जुन्ता शासकले राजधानी नेइपिडअमा ७६ औं सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’ भन्दै प्रदर्शन चर्काएका थिए ।

त्यसक्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले सहरमा सुरक्षाकर्मीले दमन गरेको हो । दिवसका अवसरमा आयोजना गरिने विशेष सैन्य परेडमा विगतका वर्षहरूमा विदेशी अधिकारीहरूको उल्लेख्य उपस्थिति हुने गर्थ्यो ।

शनिबार भने विदेशी पाहुना रुसी उपरक्षामन्त्री एलेक्सेन्डर फर्मिनमात्र उपस्थित थिए । आफ्नो भाषणका क्रममा ह्यालिङले ‘रुस आफ्नो सच्चा मित्र भएको’ बताएका थिए ।

म्यान्डले सहरमा १३ वर्षीया किशोरीसहित कम्तीमा ४० जनाको ज्यान गएको स्थानीयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । २७ जना यांगुनमा मारिएका छन् ।

त्यसैगरी, थाइल्यान्डसँगको सीमा क्षेत्रमा १० जनाले ज्यान गुमाएको जनाइएको छ । सागइङ्ग, लास्हिओ, बागोलगायत २८ स्थानमा सुरक्षाकर्मीको गोलीले अन्य प्रदर्शनकारी मारिएका हुन् । म्यान्मारस्थित अमेरिकी दूतावासले ‘सुरक्षाफौजले निहत्था नागरिकको हत्या’ गरिरहेको जनाएको छ ।

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेपछि लोकतन्त्र पक्षधरहरू आन्दोलित भइरहेका छन् । उनीहरूले देशका प्रमुख सहरहरूमा दिनहुँजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् ।

यसअघिका प्रदर्शनमा ३ सय २८ को ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघका अनुसार पत्रकार तथा अधिकारकर्मीसहित सयौं मानिस प्रहरी नियन्त्रणमा छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *