मिथिला मध्यमा परिक्रमा आज जनकपुरधाम आउँदै, भोलि अन्तरगृह परिक्रमा
टुडेपाटी-
जनकपुरधाम, चैत १४ गते ।
मिथिलाञ्चलको १५ दिने मध्यमा परिक्रमा आज जनकपुरधाम आइपुग्दै छ । शुक्रबार भारत विहारको बिसौलमा विश्राम गरेको परिक्रमामा सहभागी श्रद्धालुहरु कल्याणेश्वर महादेवको दर्शन गर्दै आज बिहानैदेखि जनकपुरधामका लागि प्रस्थान गरेका हुन् ।
आज दिउँसोसम्म जनकपुरधाम आएर परिक्रमा यात्री श्रद्धालुभक्तजन ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा रंगभूमि मैदानमा विश्राम गर्ने छन् । भोेली आइतबार बिहानै जनकपुरको अन्तगृह परिक्रमा गरेसंगै मिथिलाञ्चलको सबैभन्दा ठूुलोे धार्मिक पद यात्रा सम्पन्न हुननेछ ।
धनुषाको मिथिला बिहारी नगरपालिका स्थित तारापट्टीबाट मिथिला बिहारीको डोला र जनकपुरको जानकी मन्दिरबाट निस्केको किशोरीजीको डोला जनकपुरको हनुमाननगरमा पुगेर परिक्रमाको विधिवत् शुरु भएको थियो ।
मध्यमा परिक्रमाले भारतका चार र नेपालका ९ गरी १३ स्थानमा विश्राम लिएको थियो । १३ दिनसम्ममा मध्यमा परिक्रमाका सहभागीले कुल १३३ किलोमिटर दूरी तय गरेका छन् ।
विश्वकै सबैभन्दा ठूलो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला मध्यमा परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ । मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ ।
Sponsored
परिक्रमामा मिथिला मध्यमा परिक्रमाको अति विशिष्ट महत्व रहेको छ । मिथिला मध्यमा परिक्रमाको धार्मिक कुटनीतिका साथै पर्यटन, धार्मिक, सामाजिक तथा आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेको छ ।
परिक्रमाको प्रारम्भ बारे कतै उल्लेख नभएपनि विद्वान बरघार्टको एक अनुसन्धानका अनुसार १८औँ शताब्दिमा भारतको सीतामढीबाट आएका सन्त सीताराम दासले यो परम्पराको शुरुवात गरेका थिए । परिक्रमामा सीतारामको प्रतिमालाई बाजाका साथै घुमाउने परम्परा रहेको छ ।