झा दम्पतीको हत्यामा संलग्न रहेको आशंकामा तीनजना आफन्त पक्राउ
टुडेपाटी-
जनकपुरधाम, चैत १३ गते ।
महोत्तरीमा झा दम्पतीको हत्या प्रकरणमा थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पिपरा गाउँपालिका–५ सहोर्वाका ६६ वर्षीय मुसाफीर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झाको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय विकास झा, कैलास झा र शम्भु झालाई प्रहरीले पक्राउ गरेको हो ।
तीनैजनालई शुक्रबार पक्राउ गरिएको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।
उनीहरूको घरबाट हत्या भएका झा दम्पतीका नातेदार रहेको स्थानीयले बताएका छन् । प्रहरीले उनीहरुको घरबाट झा दम्पतीको खाटलगायतका समानसमेत फेला परेकाले पक्राउ गरेको जनाएको छ ।
यसअघि झा दम्पतीको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले छिमेक रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवका तथा भारत बिहार मधुबनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।
Sponsored
गएको फागुन १० गते राति ओछ्यानसहित बेपत्ता भएका झा दम्पतीको शव व्यापक खोजतलासको क्रममा एकमहिना पश्चात बिहीबार पीपरा गाउँपालिका २ पीपरा बजारबाट अतरा जानेबाटोमा डाइभर्सन नजिक गडिएको अवस्थामा फेला परेको थियो ।