काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन
टुडेपाटी-
काठमाडौं, चैत १३ गते ।
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउद्योगमन्त्री समेत रहेका जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको हो ।
मष्तिष्कघात भएपछि गत १४ फागुनदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उनको उपचार भइरहेको थियो । पचाररत जोशीको शुक्रबार साँझ निधन भएको स्वर्गीय जोशीकी भाउजू शोभा जोशीले बताइन् । नर्भिक अस्पतालले उनको निधन भएको पुष्टि गरेको छ ।
फागुन १३ गते राति स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरमा सीटी स्क्यान गरेर हेर्दा उनको दिमागका रगत जमेको देखियो । त्यसपछि वीरले नर्भिक अस्पताल रिफर गरेको थियो ।
नर्भिक पुग्दा नेता जोशी कोमामा पुगिसकेका थिए । उनलाई अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो ।
पहिलो संविधान सभा र दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौंबाट निर्वाचित जोशी २०७३ मा प्रचण्ड नेतृत्वको सरकारमा उद्योगमन्त्री समेत बनेका थिए ।
Sponsored
मन्त्री बन्दा उनले सार्वजनिक संस्थानहरुको सुधारमा उल्लेख्य काम गरेर प्रशंसा बटुलेका थिए ।
काठमाडौंको उपमेयर समेत बनिसकेका नेता जोशी काठमाडौंवासीबीच निकै लोकप्रिय नेता थिए ।