सिरहामा डाक्टरको लापरबाहीका कारण वृद्धको मृत्यु, पीडित परिवार आन्दोलित, डाक्टर फरार !
टुडेपाटी-
सिरहा, चैत १३ गते ।
सिरहामा चिकित्सकको लापरबाहीका बिरामीको मृत्यु भएको छ । सिरहाको नरहा गाउँपालिका–३, चोहर्वास्थित अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको हो ।
पीडित परिवारले हेल्थ केयरविरुद्ध आन्दोलन समेत गरेको छ । चिकित्सकले सही उपचार नगर्दा र समयमै अन्यत्र उपचारको लागि रिफर नगर्दा नरहा गाउँपालिका-३ डन्डाटोलका ६४ वर्षीय राम सुफल महतोको बिहीबार मृत्यु भएको मृतकका छोरा लालबिहारी महतोले जानकारी दिए ।
बान्ता आउने र उच्च रक्तचाप भएर गत सोमबार महतोलाई हेल्थ केयरमा भर्ना गरिएको परिवारजनको बताएका छन् । भर्ना भएकै दिनदेखि बिरामीमा खासै सुधार नआएपछि छोरा लालबिहारीले डाक्टरलाई पटकपटक अन्यत्र रिफर गर्न भने पनि चिकित्सक सञ्जय यादवले ‘यहीँ ठिक हुन्छ’ भन्दै जबरजस्ती राखेको लालबिहारीको भनाइ छ ।
अन्तिममा आफ्नो केही नचलेपछि वडाध्यक्ष अनीसुल मियाँलाई ल्याएर अस्पतालमै भन्न लगाई रिफर गराएर थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।
चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन् । चिकित्सक डा. सञ्जय यादव भने फरार भएको सिरहा प्रहरीले जनाएको छ ।
Sponsored
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।