TodayPati

प्रधानमन्त्री ओलीसित वारपारको लडाईँको मुडमा माधव नेपाल

टुडेपाटी-

जनकपुरधाम, चैत १२ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेपछि माधव नेपाल पक्षका नेताहरुले आन्तरिक छलफललाई तीव्र पारेका छन्।

Sponsored

स्रोतका अनुसार स्पष्टीकरण सोधेर अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा वारपारको स्थिति सिर्जना गराएको नेताहरूको ठहर छ।

पार्टीमा वारपारको लडाईँको स्थिति आउनुमा मुख्यतः ओली नै जिम्मेवार रहेको एक स्थायी समिति सदस्य बताउँछन्। ओलीले एमालेबाट नेपाल पक्षलाई अलग्याउन अवैध निर्णय गर्ने र सङ्गठन बिस्तार गर्ने काममा सक्रियता देखाएका छन्।

सर्वोच्च अदालतले नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी ब्यूँताएपछि फागुन २८ गतेदेखि ओलीको अवैध गतिविधिको थालनी सुरु भएको नेपाल पक्षको निष्कर्ष छ।

Sponsored

राजनीतिक रूपमै स्पष्टीकरणको जबाफ दिने तर ओलीसामु घुँडा नटेक्ने रणनीति यो पक्षको छ। ती स्थायी समिति सदस्यले भने, ‘हामी ओलीसँग वारपारको लडाईँमा उत्रिसकेका छौं। यो स्थिति आउनुमा ओली मात्रै जिम्मेवार छन्। हामी दुःखी पनि छौँ। हामीमा साहस पनि बढेको छ।’

उनले अगाडि भने, ‘विद्रोह रोज्दा हाम्रो पक्षका कतिपयले ओलीसँग समर्पण गर्न पुग्लान् त्यसमा हामी सचेत छौं। तर विद्रोहको स्थिति किन आयो भन्नेबारे हामीले पुष्टि गर्ने छौं।’ ओलीले पार्टी विभाजनको स्पष्ट उद्देश्य राखेर स्पष्टीकरण सोधेकाले त्यसको जवाफ सोचविचार गरेरै दिनुपर्ने यो पक्षको बुझाई छ।

ओलीलाई जबाफ र प्रश्नहरू पठाउने क्रममा नेपाल पक्षले विधान अनुसार २५ प्रतिशतको हस्ताक्षरसहित स्थायी, पोलीटव्यूरो र केन्द्रीय कमिटी बैठक पनि बोलाउन माग गर्ने बुझिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा गत शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार पार्टीको विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएको थियो।

नेपाल पक्षले फागुन २८ गतेको निर्णय सच्याउनुपर्ने माग गरेको थियो तर ओलीले आनाकानी गरेपछि नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेर देशभर समानान्तर कमिटी बनाउन सुरु गर्‍यो। त्यसपछि ओली पक्षले नेपालसहितका नेतालाई स्पष्टीकरण सोधेको हो। पार्टीमा वारपारको लडाईँको बिन्दु सोही विषयलाई मानिएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *