TodayPati

भारतमा कोरोना संक्रमण बढेपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

टुडेपाटी-
वीरगञ्ज, चैत ११ गते ।

भारतमा कोरोना महामारीको संक्रमण फेरि तीव्र गतिमा बढ्न थालेपछि नेपालको प्रमुख नाकाको रुपमा रहेका वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाइएको छ ।

पछिल्लो पटक वीरगञ्जमा पनि २० जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले सर्वपक्षीय बैठक बोलाएर सीमा नाकामा कडाई गर्ने निर्णय गरेको हो ।

Sponsored

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले भारतबाट आउनेहरुलाई चेकजाँच गरेर र ट्राभल हिस्ट्री लिएर मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।

बैठकले सीमानाकामा कडाई गर्ने, सशस्त्र र जनपथ प्रहरीलाई कोरोना नियन्त्रणको लागि तयारी अवस्थामा राख्ने र मुख्य नाकामा सेना परिचालन गर्ने तथा हेल्प डेस्क राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

सीमानाकामा तापक्रम नापेर ज्वरो आएका यात्रुहरुको ‘एन्टिजिन टेस्ट’ गर्ने निर्णय भएको प्रजिअ तामाङले बताए । भारतबाट आउँदा ट्राभल हिस्ट्रीसहितको अभिलेख राखेर मात्र प्रवेश गर्न दिने पनि बैठकले निर्णय गरेको छ ।

Sponsored

नेपाल प्रवेश गर्ने बेलामा कोरोनाको लक्षण देखिएकालाई आइसोलेसन सेन्टर वा अस्पताल पठाउने र अरुलाई होम क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने, कोरोनाको नयाँ भेरियन्ट देखिएका राष्ट्रहरुको ट्राभल हिस्ट्री भएकालाई ७२ घण्टाभित्र आरडिटीरपिसिआर रिपोर्ट देखाएर प्रवेश अनुमति दिने पनि बैठकले निर्णय गरेको प्रजिअ तामाङको भनाइ छ ।

कोभिड संक्रमितहरू बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै पर्सा जिल्लाका नारायणी अस्पताल, बगही स्वास्थ्य चौकी, पोखरीया अस्पताल, धोबिनी गाउँपालिकाको भिखमपुर स्वास्थ्य चौकीमा कोभिड संक्रमितहरूको लागि शय्याको व्यवस्था गर्ने निर्णय गरेको छ ।

नारायणी अस्पतालमा १५ शय्या र पोखरीया र भिखमपुरमा गरी ५/५ शय्याको व्यवस्था गरिने तथा नेशनल मेडिकल कलेज कोरोना अस्पताललाई पुनः सञ्चालनमा ल्याउन मन्त्रालयसँग स्वीकृति माग्ने बैठकले निर्णय गरेको छ ।

आउँदो होली तथा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी सामूहिक भेला हुन निषेध गर्ने, सभा, जुलुस गर्न निरुत्साहित गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले मास्क नलगाउनेलाई कारबाही गर्ने, उद्योगहरुमा कार्यरत भारतीय कामदारहरु घर गई पुनः उद्योग फर्किँदा अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने, रात्रिकालीन व्यवसाय राति ९ बजे बन्द गर्नुपर्ने निर्णय पनि गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *