नेपालमा लकडाउन भएको एक वर्ष पुरा तर जोखिम यथावत
टुडेपाटी-
जनकपुरधाम, चैत ११ गते ।
कोरोना भाइरस सङ्क्रमणका कारण नेपालले लकडाउन गरेको एक वर्ष पुरा भएको छ । गत वर्ष चैत ११ गते देखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो ।
पटकपटक गरी चार महिनासम्म लकडाउन गरिएको थियो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भयो । लकडाउन हटेपछि देशभर बिस्तारै सबै व्यबसाय खुला गरिएको थियो ।
तर, कोरोना कहरको एक बर्षपछि पुनः भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिए पछि भारतका केही ठाउँमा लकडाउन लागू गरिएको छ ।
सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानीलाई कडा पारेको छ ।
Sponsored
भारतमा संक्रमण फैलिएपछि नेपालले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ ।
सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्ने तयारी गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेशन र क्वरेण्टीनलाई तयारी अवस्थामा राख्न गृह मन्त्रालयले निर्देशन दिइसकेको छ ।