कोरोना भाइरसका कारण नेपाल–भारत मैत्री बस सेवा बन्द
राजा झा-
जनकपुरधाम, चैत ३ गते ।
प्रदेश २ को राजधानी जनकपुरधाम देखि भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने नेपाल–भारत मैत्री बस सेवा बन्द भएको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण बस सेवा तत्कालका लागि बन्द भएको जनाइएको छ ।
विश्वभरी फैलिँदै गएको कोरोनाको त्रासका कारणले नेपाल–भारत मैत्री बस सेवा अन्तर्गत जनकपुरधाम देखि पटना सम्म चल्ने बस सेवा ३१ मार्च सम्मको लागि बन्द भएको जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए ।
उनले कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा जनकपुरबाट पटनासम्म चल्ने नेपाल–भारत मैत्री सेवा बस सञ्चालन बन्द गरिएको बताए ।
Sponsored
करिब डेढ वर्ष पहिले जनकपुरधामबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र विहारको पटनाबाट विहारका मुख्यमन्त्री नितिश कुमारले हरियो झण्डा देखाएर नेपाल भारत मैत्रीपूर्ण बस सेवा संचालनमा ल्याएका थिए ।