TodayPati

सिरहामा वडाध्यक्षको चरम लापरबाहीले अहिलेसम्म राहत सामग्री गोदाममै कुहिँदै

विनय यादव-
सिरहा, चैत ८ गते ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गरेको लकडाउनका कारण गरिब र विपन्न भोकले छट्पटाइरहेका बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भनेका थिए, ‘प्रदेशका कुनै पनि गरिब भोकै बस्नुपर्दैन ।’

प्रदेश २ सरकारले महामारीका बेला विपन्न र असंगठित स्थानमा मजदुरी गर्ने परिवारका लागि प्रदेशभर राहत स्वरुप खाद्यान्न सामग्री वितरण अभियान पनि चलायो । जसअन्तर्गत खाद्यान्नको जोहो गर्न नसक्ने विपन्न, ज्याला मजदुरी गर्ने किसान, एकल महिला, अपांगलगायतलाई राहत वितरण गर्नुपर्ने कार्यविधि बनाएर पहिलो चरणमा प्रदेश सरकारले सबै स्थानीय तहमा राहत वितरणका लागि रकम पठायो ।

Sponsored

प्रदेश सरकारले गाउँपालिकालाई ५ लाख, नगरपालिकालाई १० लाख, उपमहानगरपालिकालाई १५ लाख र महानगरपालिकालाई २० लाख रकम पठाएको थियो । पहिलो चरणको राहत वितरण कार्यक्रम सकिएपछि दोस्रो चरणमा भने प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग कार्यालयमार्फत् राहत सामग्री नै स्थानीय तहलाई वितरणका लागि हस्तान्तरण गर्‍यो ।

प्रदेश सरकारले दोस्रो चरणको राहत सामग्री स्थानीय तहलाई हस्तान्तरण गरेको झण्डै ११ महिना भयो । तर, प्राथमिकताका आधारमा समयमै वितरण गर्नुपर्ने राहत जनप्रतिनिधिको उदासिनताले गोदाममै थन्किएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका-६ मा वितरणका लागि दिइएको राहत सामग्री हालसम्म वितरण हुन सकेको छैन । वडाध्यक्षको बेवास्ताले समयमै वितरण हुन नसक्दा भोक्राहास्थित वडा कार्यालयमा राखिएको राहत सामग्री कुहिएर काम नलाग्ने अवस्थामा पुगेको छ ।

Sponsored

कोरोना कहरले समस्यामा परेका अतिविपन्न र असंगठित मजदुरका लागि भनेर प्रदेश सरकारले दिएको राहत सामग्री समयमै वितरण नहुँदा कुहिन थालेका हुन् । वडाध्यक्ष मोहम्मद मोतिबुल राइनको कार्यकक्षमा थन्क्याएर राखिएको ५८ प्याकेट चामल कुहिन थालेको छ भने र खाने तेलको म्याद पनि गुज्रिएको छ ।

राहतका लागि प्रतिपरिवार २५ किलो चामल, दुई किलो मुसुरो दाल, एक लिटर खाने तेल, एक प्याकेट नुन, आधा किलो सोयाबिन र एक थान हात धुने साबुन प्याकिङ गरी प्याकेट तयार पारिएको थियो । तर, राहत वितरण गर्न वडाध्यक्षले ध्यान नदिँदा महामारीका बेला विपन्न भोकभोकै बस्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।

आएको राहत लामो समयसम्म वितरण नगरी कुहिने अवस्था आएपछि स्थानीय विरोधमा उत्रिएका छन् । विपन्न गरिबलाई बाँड्नुपर्ने राहत नबाँडी वडाध्यक्ष राइनले आफ्नो कार्यकक्षमा राखेर कुहाएको भन्दै स्थानीयले आलोचना गरेका छन् । ‘चामल कुहिदै छ, खाने तेलको पनि म्याद गुज्रियो,’ स्थानीय धीरेन्द्र साहले भने, ‘सम्बन्धित निकायले वडाध्यक्षलाई कारबाही गर्नुपर्छ ।’

प्रदेश सरकारले पठाएको राहत नबाँडेपछि स्थानीयले यसअघि पनि वितरणका लागि दबाब दिएका थिए । वडा कार्यालयलाई राहत सामग्री वितरण गर्न पटकपटक आग्रह गरेपनि वितरण नहुँदा अहिले कुहिन थालेको स्थानीय तारकेश्वर यादवले बताए ।

उनले गरिब विपन्न परिवारलाई वितरण गर्नुपर्ने राहत नबाँडिएकोमा आपत्ति जनाए । ‘राहत सामग्री कुहिनुको जिम्मेवार वडाध्यक्ष हुन्,’ उनले भने, ‘यो नोक्सानीको क्षतिपूर्ति वडाध्यक्षले व्यहोर्नुपर्छ ।’

तर, वडाध्यक्ष राइनले भने प्रभावित विपन्नको संख्या यकिन गर्न नसक्दा राहत बाँड्न नसकिएको बताए । राहत कम आएको तर विपन्नको संख्या धेरै भएकाले पनि वितरण गर्न नसकिएको उनले बताए ।

वडामा प्रभावितको जनसंख्या बढी भएकाले कसलाई दिने र कसलाई नदिने भन्ने समस्या भएर राहत बाँड्न नसकिएको उनको दाबी छ ।

वडाध्यक्ष राइनले पहिलो चरणमा नगरपालिकाबाट प्राप्त राहत सामग्री पूर्णतः वितरण गरिएको दाबी पनि गरे । घरेलु तथा साना उद्योग कार्यालयले भने जिल्लाका १७ वटै स्थानीय तहमा राहत सामग्री पठाएपनि वितरण गरिएको भर्पाइ अझैसम्म नआएको जनाएको छ । जिल्लाका सबै स्थानीय तहमा ५८/५८ प्याकेट राहत सामग्री पठाइएको थियो ।

राहत सामग्री छिटो वितरण गरी भर्पाइ पठाउन आग्रह गरेपनि ११ महिना पुगिसक्दा पनि हालसम्म वितरण गरेको भर्पाइ प्राप्त हुन नसकेको कार्यालयका प्रमुख दीपेन्द्र यादवले बताए ।

घरेलुले स्थानीय तहका वडामा राहत सामग्री पठाएपनि वितरण भए/नभएको विषयमा अनुगमन भने गरेको देखिएको छैन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *