TodayPati

जलेश्वरमा मच्छर नियन्त्रण गर्न ‘डेट एक्सपायर’ औषधी छर्कियो, बिरामी पर्न थाले स्थानीय

जयन्त ठाकुर-
जनकपुरधाम, चैत ८ गते ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ मा लामखुट्टे मार्ने म्याद गुज्रिएको औषधी छर्किएपछि सर्वसाधारणको स्वास्थ्यमा विभिन्न समस्या देख्न थालेको छ ।

जलेश्वर–५ का पर्सा, पतैली, चौरिया र विसनपुर गाउँमा केही दिनअघि वडा कार्यालयले औषधी छर्कन लगाएको थियो। औषधी छर्किएको केही घण्टा नबित्दै स्थानीयमा समस्या देखिन थालेको बताइएको छ। विशेषगरी बालबालिकामा रुने, जिउ चिलाउने, वान्ता हुने, जिउ फुल्नेजस्ता समस्या देखिएको छ।

Sponsored

स्थानीय स्वास्थ्यकर्मी सरोज चौधरीका अनुसार मानिसलाई मात्र नभई पशु–चौपायामा समेत त्यसको असर परेको छ। उनले भने, ‘गाउँलेहरुले एकाएक सिट्रिच, सिटामोल आदि औषधी खोज्न थालेपछि मात्रै म्याद गुज्रिएको औषधी छर्किएपछि यस्तो समस्या उत्पन्न भएको थाहा पाएँ।’ चिलाउने, जिउ फुल्नेजस्ता समस्या आएपछि खोज्दै जाँदा म्याद गुज्रिएको औषधी छर्किएको थाहा पाएको उनले सुनाए।

जलेश्वर–५ का स्थानीय शत्रुध्न शर्माले भने, ‘लामखुट्टेको औषधी छर्किएको केही घण्टा नबित्दै गाउँमा त्रास मच्चियो। चिलाउने, ज्वरो आउने, बालबच्चा रुने समस्या सुरु भयो। वडा कार्यालयले लामखुट्टेको औषधी छर्केको थियो। लामखुट्टेको आतंक त कम भएन नै, उल्टो गाउँलेहरुमा विभिन्न समस्या देखिन थाल्यो।’

जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतले भने लामखुट्टेको विषादीका कारण समस्या नआएको दाबी गरेका छन्। उनले म्याद गुज्रिएको औषधी छर्किनुका कारण समस्या देखिएको नभई आवश्यक मात्राभन्दा बढी प्रयोग गरिएकोले समस्या आएको हुनसक्ने बताए।

Sponsored

वडाध्यक्ष राउतले भने, ‘८ लिटर पानीमा एउटा प्याकेट मिलाउनुपर्नेमा त्यसभन्दा बढी प्याकेट मिसाइएकाले यो समस्या आएको हुन सक्छ। यकिन जानकारी त मलाई पनि छैन।’

विषादीको प्याकेटमा उत्पादन मिति सेप्टेम्बर २०१८ लेखिएको छ र त्यसको दुई वर्षसम्म प्रयोग गर्न सकिने उल्लेख छ। यसअनुसार उक्त विषादीको प्रयोग सेप्टेम्बर २०२० सम्ममा भइसक्नुपर्ने हो । तर, वडाध्यक्ष राउतले भने प्रयोग गर्ने समयमा विषादीको म्याद गुज्रिन दुई महिना बाँकी नै रहेको दाबी गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *