कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा वैशाखमा लगाउने तयारी, ७ भाइल चैतमै ‘डेट एक्सपायर’ हुँदै
टुडेपाटी-
सप्तरी, चैत ६ गते ।
सरकारले कोरोना भाइरसविरुद्ध थालेको खोप अभियान कार्यक्रम तत्काललाई रोकेको छ भने पहिलो चरणमा खोप लगाइसकेका व्यक्तिलाई दोस्रो मात्रा आगामी ७ देखि ११ वैशाखसम्म लगाउने निर्णय गरेको छ । तर, जिल्ला स्वास्थ्य कार्यालय सप्तरीमा भने बाँकी रहेको ६५१ भाइल खोपमध्ये ७ वटा भाइलको १३ अप्रिल (३१ चैत) मै ‘डेट एक्सपायर’ हुँदैछ ।
सरकारले अनुमति नदिएसम्म खोप लगाउन नमिल्ने भएकाले आफूहरू दुविधामा परेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । ‘हामीसँग बाँकी रहेको खोपमध्ये ७ वटा भाइल अप्रिल १३ तारिखमै एक्सपायर हुँदैछ’ उनले भने, ‘अब सरकारले दोस्रो मात्रा वैशाख ७ गतेदेखि सुरु गर्दैछ, योभन्दा पहिले नै यो भाइल कामै नलाग्ने हुन्छ ।’
मन्त्रालयले अनुमति नदिएसम्म हामीलाई पर्खेर बस्नु बाहेकको विकल्प नरहेको उनले बताए । ‘हामीले पत्र पठाउँदैछु, त्यहाँबाट अनुमति आए हामी राजविराजमै एउटा केन्द्र राखेर ७० जनालाई खोप लगाइसक्नेछौँ ।’ अन्यथा केही भन्न नसकिने उनले प्रतिक्रिया दिए ।
उनका अनुसार एउटा भाइलबाट १० जनालाई खोप लगाइन्छ ।
Sponsored