TodayPati

बारामा जग्गाका कारण १४ वर्षे बालकको हत्या भएको खुलासा, ३ जना प्रहरीको फन्दामा

टुडेपाटी-
बारा, चैत ४ गते ।

बारामा पारिवारिक तथा जग्गा सम्बन्धी विवादका कारण १४ वर्षीय बालकको हत्या भएको खुलासा भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका-२३ भलुही टोलका १४ वर्षीय बालक शाहिद मंसुरीको हत्या आरोपमा तीन जनालाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

Sponsored

जितपुर सिमरा उपमहानगरपालिका-२३ भलुही टोल बस्ने २५ वर्षीय कियामुद्दिन मंसुरी, सोही स्थानका २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेदिन मियाँ अन्सारीलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार उनीहरुले गत फागुन ११ गते बालक मंसुरीको हत्या गरी वडा नम्बर १० बेहरा टोलस्थित खाल्टोमा पुरेका थिए ।

घरबाट बेपता भएका बालक मंसुरीको शव गत फागुन २८ गते फेला परेको थियो । १७ दिनपछि फेला परेको बालकको शव सडिसकेको अवस्थामा थियो ।

Sponsored

शव फेला परपछि प्रहरीले कुकुरको सहयोगमा हत्याको अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा पक्राउ परेका तीनै जनाले हत्या गरेको भनेर स्वीकारसमेत गरेको मिश्रले बताए ।

पक्राउ परेका तीनै जना लागुऔषध सेवनकर्ता रहेका थिए । उनीहरुले आपसी रिसइवी, झगडा एवं आर्थिक लाभका कारण हत्या गरेको डीएसपी मिश्रको भनाइ छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको बारा प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *