TodayPati

जनकपुरको बजारक्षेत्र अस्तव्यस्त, हाइवेमा अशुली धन्धामा लागे धनुषाका ट्राफिक प्रहरी

टुडेपाटी-

जनकपुरधाम, चैत ४ गते ।

अव्यवस्थित पार्किङले प्रदेश २ को राजधानी जनकपुरका सडक अस्तव्यस्त बनेको छ ।

Sponsored

सडक फराकिलो भए पनि व्यवस्थित पार्किङको अभाव र फितलो ट्राफिक व्यवस्थापनका कारण दिनहुँ हुने जामले सर्वसाधारण आजित बनेका छन् ।

मुख्य सडकमा जथाभावी पार्किङ र ट्राफिक नियम उल्लङ्घनका कारण यात्रुका साथै पर्यटकलाई समेत समस्या भएको छ । खासगरी जानकी चोक–जनक चोक, पिडारी चोक, मालपोत र जिल्ला प्रशान कार्यालय क्षेत्रका सडकखण्डमा अव्यवस्थित गाडीको लामो लर्को देखिए पनि कहीँकतै ट्राफिक प्रहरी देखिँदैन ।

यात्रुले हिँड्नै नमिल्ने गरी सडक पेटीमा व्यापार सञ्चालन गरेकाले सास्ती भएको छ । छाडा चौपायालेसमेत ट्राफिक व्यस्थापनमा चुनौती थपेको छ । प्रहरीका अनुसार खुल्ला छाडिएका गाइवस्तु र सुँगुरका कारण दिनहुँ दुर्घटना हुँदै आएका छन् ।

Sponsored

‘नो पार्किङ’ का ठाउँमा पनि ट्राफिक नियमको धज्जी उडाउँदै स्थानीय इ–रिक्सा, अटो, लामो तथा छोटो दूरीमा चल्ने बस, ट्रक, भ्यानलगायतका सवारी साधन जताततै पार्किङ गर्नाले समेत दुर्घटना निम्त्याउने गरेको छ ।

सडकै ढाक्ने गरी हुने पार्किङले जनकपुरमा दुर्घटनाको जोखिम पनि बढेको छ । चिल्लो फराकिलो सडकमा तीव्र गतिमा गाडी गुडाउँदा दुर्घटनाको जोखिम बढेको हो ।

व्यवस्थित पाकिङस्थलको अभावमा जथाभावी सवारीसाधन राख्नाले व्यापारिक तथा पर्यटकीय नगरी जनकपुरको सौन्दर्य मासिएर कुरूप बन्दै गएको हुँदा व्यवस्थित पार्किङस्थल निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ ।

अव्यवस्थित ट्राफिकले जनकपुरको बजारक्षेत्र अस्तव्यस्त भएपनि पछिल्लो समय धनुषाका ट्राफिक प्रहरी होइवे केन्द्रित भएका छन् । राजश्व बढाउने होडमा प्रहरीले बजार क्षेत्रमा सर्वसाधारणले खेप्नु परेको सास्तीलाई बेवास्ता गर्दै हाइवे क्षेत्रमा चेकिङ बढाएका छन् ।

धनुषाका ट्राफिक प्रहरी प्रमुखमा आउनुअघि महिनाको १२ लाखसम्म मात्र राजश्व संकलन हुँदै आएकोमा पछिल्लो समय आफु आएयता राजश्वमा वृद्धि भएको प्रहरी निरिक्षक नवराज न्यौपानेले बताए । उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले पछिल्लो समय मासिक २५–३० लाखसम्म राजश्व अशुल गरिरहेका छन् ।

तर राजश्व अशुली ट्राफिक प्रहरीको प्रमुख काम नरहेको धनुषाका एसपी प्रकाश रानाभाट बताउँछन् । हाइवे क्षेत्रमा बढाएको चेकिङले सवारी दुर्घटना कम भएको प्रहरी निरक्षक न्यौपानेले दावी गरे ।

‘पहिले महिनामा ५०÷६० वटा दुर्घटना हुने गरेको थियो तर चेकजाँच बढाउँदा हाइवेमा दुर्घटना कम भएको छ । अचेल महिनाको २०÷२५ वटा दुर्घटना भइरहेको देखिन्छ,’ उनले भने ।

त्यसैगरी ट्रयाक्टरमा क्षमताभन्दा बढी व्यक्ति चढाएर मेला हेर्न जाने र तिब्र गतिमा गाडी चलाउनेमाथि निगरानी राख्ने कार्यलाई समेत प्रहरीले प्राथमिकतामा राखेको उनको भनाई छ ।

उपमहानगरपालिकाको बेवास्ताले जनकपुरमा छाडा चौपाया निन्त्रणा हुन नसकेको र फुटपाथमै बजार लाग्ने गरेको धनुषाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरक्षक न्यौपानेले गुनासो पोखे ।

‘फुटपाथ खाली गराउन उपमहानगरपालिकालाई पटक पटक गाडी र नगर प्रहरी दिनुस भनेका छौँ । तर उनीहरुको जिविकोपार्जन त्यसैले हुँदो रहेछ त्यसैले विरोध हुनसक्छ भनेर वहाँहरुले चासो देखाउनु भएको छैन्, ’ उनले थपे, ‘ छाडा चौपायालाई नियन्त्रणमा लिएर हामीले एकदिन कान्जी हाउस पुर्याएका थियौँ । तर फेरि जसको गाई, बाछा थियो उसले लगिसके ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *