TodayPati

१५ दिनदेखि गाउँपालिका अध्यक्ष राउत फरार, अफिस सुनसान, सेवाबाट वञ्चित स्थानीय

टुडेपाटी-
जनकपुरधाम, चैत ३ गते ।

आठ लाख घुसरकम फालेर विगत १५ दिनदेखि फरार धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्मबरबहादुर राउतका कारण गाउँपालिकाको कामकाज ठप्प भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली टंगालको चंगुलबाट उम्केर गाउँपालिका अध्यक्ष राउत फरार भएका छन् ।

Sponsored

स्थानीयले अध्यक्ष राउतलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, तीन वर्षयता भएको विकास निर्माण कार्यको हरहिसाब पारदर्शी गर्नुपर्नेलगायतका माग राखी गाउँपालिकाको अध्यक्ष, प्रशासकीय अधिकृत, योजना र लेखा शाखामा तालाबन्दी गरेका छन् ।

धनुषाका डीएसपी मकेन्द्र मिश्र फरार भएका राउतको खोजी कार्य जारी रहेको बताउँछन् । राउत सम्पर्कमा नआउँदा गाउँपालिकाको कामकाज ठप्प भएको छ । कर्मचारीहरू कार्यालय गएर हाजिर गरेर फर्कन्छन् ।

गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत रुद्रनरायण यादवले घटनाको भोलि पल्टदेखि मोबाइल स्वीच अफ गरेका छन् । त्यसयता उनी कार्यालय गएका छैनन् ।

Sponsored

गाउँपालिकामा १५ दिनदेखि भइरहेको तालाबन्दी खुलाउन उपाध्यक्ष प्रमिलादेवी महतो, निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव तथा निर्वाचित जनप्रतिनिधिले कुनै चासो नदेखाएको सेवाग्राहीले गुनासो गर्छन । उनीहरूको बेवास्ताले सर्वसाधारण तथा सेवाग्राही कार्यालय पुगेर कामै नगरी फर्कन बाध्य छन् ।

तालबन्दी गरेका स्थानीय नेता राममणि कुश्वाहाले भने, ‘अहिलेसम्म न उपाध्यक्ष, न अधिकृत, न त अख्तियारले ताला खुलाउन चासो देखाएको छ । जनताको काम कतिदिन प्रभावित गरेर बस्ने ? हरहिसाब कहिले दिने भनेर लिखित सहमती गरे भैगो नि । त्यसका लागि उपाध्यक्षले बैठक बोलाउनु प¥यो नि ।’

आफूहरू उपाध्यक्ष महतोलाई सम्पर्क गरेको जानकारी दिए । गाउँपालिकामा कुनै पत्र नआएकाले के गर्ने के नगर्ने भन्ने अन्योलमा उपाध्यक्ष रहेको उनले बताए ।

कार्यालयमा लागेको ताला खुलाउन पहल गरिरहेको उपाध्यक्ष महतोको दावी छ । गाउँपालिकाको कामकाज नियमित गराउनका लागि आइतबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग वडाध्यक्षहरू समेतको उपस्थितीमा छलफल गरेको उनले जानकारी दिइन् ।

अख्तियारले चार÷पाँचवटा पत्र पठाएको गाउँपालिकाका एक कर्मचारीले बताए । केही दिनअघि दुई दिनको अन्तरालमा पठाएको चार÷पाँचवटा पत्रमा अख्तियारले पाँच प्रश्नको जवाफ मागेको उनले बताए ।

गएको फागुन १७ गते साँझ गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत ८ लाख घुसरकम फालेर भागेका थिए । गाडीसहित चालक वीरबहादुर मगरलाई अख्तियारले बटेश्वर बजारबाट नियन्त्रणमा लिएको थियो । गाउँपालिका अध्यक्षले कार्यालयको भवन निर्माण योजनाको भुक्तानीको लागि ठेकेदारबाट घुस रुपैयाँ लिन खोजेपछि अख्तियारले उनको पिछा गरेको थियो ।

अख्तियारले पिछा गरेको थाहा पाएपछि अध्यक्ष राउत घुसरकम फालेर फरार भएका छन् । त्यसयता उनी सम्पर्कमा छैनन् । गाउँपालिका अध्यक्ष नै नभएपछि कार्यालय सुनसान बनेको छ । सरकारी सेवा लिनबाट गाउँपालिकावासी वञ्चित भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *