जनकपुरको ऐतिहासिक रामायण भवन संरक्षणको अभावमा अस्तित्व गुमाउँदै
राजा झा-
जनकपुरधाम, चैत ३ गते ।
जनकपुरधाम ऐतिहासिक भूमि हो । यहाँ भगवान राम र सीतासँग जोडिएका कयौँ धार्मिक स्थान तथा मठमन्दिरहरु रहेको छन् ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा सीता राम र रामायणसँग सम्बन्धित विभिन्न मठ मन्दिरहरु रहे पनि त्यसको संरक्षण भने हुन सकेको छैन ।
जनकपुरधामस्थित राममन्दिरको ठीक अगाडि र धनुष सागर पोखरीको डीलमा रामायण भवन रहेको छ । जनकपुरधामको सो ऐतिहासिक रामायाण भवन अहिले आफ्नै अस्तित्व गुमाउने अवस्थामा पुगिसकेको छ ।
राम चरित मानस आउने युवा पुस्तामा समेत हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको रामायण भवन संरक्षण अभावमा जिर्ण हुँदै गएको हो । तुलसी दासद्वारा रचित रामचरित मानस लेखिएको सो भवनको संरक्षण तर्फ कुनै निकायले ध्यान दिन नसक्दा सो भवनको अस्तित्व नै मेटिने खतरा बढेको छ ।
धनुष सागर पोखरीको डीलमा रहेको रामायण भवनको भित्री भित्तामा रामचरित मानस लेखिएको छ भने सीतारामको विवाहसँग सम्बन्धित तस्बिरहरु कुँदिएका छन् । केही वर्ष अगाडिसम्म रामायण भवन श्रद्धालु भक्तजनहरुको लागि आकर्षणको केन्द्र नै थियो ।
Sponsored
जनकपुरधाम आउने पर्यटकहरु जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरमा पूजा गरेपछि सो भवनमा समेत पूजा अराधनाका लागि पुग्ने गर्थे। पछि सत्य साई केन्द्र नामक संस्थाले सो भवन लिएपछि भक्तजनहरु त्यहाँ जान छोडेको बताइन्छ । तर अचेल सो भवन सर्वसाधारणका लागि बन्द गरिएको छ ।
सत्यसाई केन्द्रले रामायण भवनमा कब्जा जमाएपछि गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले अभियान चलाएर खाली गराउन सफल भएका थिए । महासेठले भने, ‘ रामायण भवनमाथि रहेको केन्द्रको कब्जा हटाउन प्रशासनलाई सुरुमा गुहार्यौँ तर प्रशासनले चासो नलिएपछि पुनरावेदन अदालत पुगेका थियौँ । पछि तत्कालीन पुनरावेदन अदालतले सत्यसाई केन्द्रलाई हट्न आदेश सुनाएको थियो ।’
केन्द्रको कब्जाबाट रामायण भवन मुक्त भएपनि सो भवन जिर्ण भइरहेकोमा महासेठले चिन्ता व्यक्त गरे । उनले भने, ‘जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्र बनाउने कुरो बेला बेलामा उठ्छ तर यहाँका धरोहरहरु संरक्षण हुन सकेको छैन कसरी धार्मिक पर्यटनको केन्द्र बनाउने ?’
उनले अगाडि भने, ‘यहाँ दर्जनौँ युवा क्लवहरु छन् तर पूजा मेला आदिको समयमा मात्रै सक्रिय रहेको देखिन्छन् जबकि यी धरोहरहरुको संरक्षण तर्फ समेत युवा क्लवहरुको ध्यान केन्द्रित हुनु पर्ने हो ।’
रामायण भवनको नाउँमा काठमाडौँमा अक्षय कोष पनि रहेको छ । सो कोषमा ३ करोड ३ लाख रुपैयाँ जम्मा रहेको छ । सो रुपैयाँकै ब्याजबाट पनि रामायण भवनको जिर्णोद्धार गर्न सकिने मञ्चका अध्यक्ष महासेठले बताए । तर अक्षय कोषमा रहेको रकमको विषयमा अहिलेसम्म जनकपुरधामबासी समक्ष सार्वजनिक नगर्नुले सो पैसामा समेत अनियमितता भएको हुन सक्ने उनले आरोप लगाए ।
रामायण भवनको नाउँमा रहेको ११ बिघा जग्गा बेचेर सो अक्षय कोष खडा गरिएको थियो । रामायण भवनको नाउँमा धनुषाको धारापानीमा रहेको ११ बिघा जग्गामा नेपाली सेनाले क्याम्प निर्माण गरेपछि सो जग्गा सेनाले नै खरिद गरेको थियो ।
नेपाली सेनाले सो जग्गा ४ करोडमा खरिद गरेको थियो । सोही ४ करोड रुपैयाँको काठमाडौँमै अक्षय कोष खडा गरिएको थियो तर अहिले अक्षय कोषमा ३ करोड ३ लाख रुपैयाँ मात्रै रहेको जानकारी दिदै महासेठले बाँकी ९७ लाख रुपैयाँ हिनामिना भइसकेको आरोप लगाए ।
यता अक्षयकोषको विषयमा गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीलाई सोध्दा उनले आफूलाई अक्षय कोषको विषयमा कुनै जानकाररी नरहेको र काठमाडौँमा खाता रहेकोले केन्द्रीय गुठी कार्यालयकै संरक्षणमा त्यो अक्षय कोष भएको हुन सक्ने बताए ।
गायब रहेको बाँकी ९७ लाख रुपैयाँको विषयमा समेत उनले केही जानकारी दिन रुचाएनन् । उनले भने, ‘अक्षय कोष र अक्षय कोषको बाँकी ९७ लाख रुपैयाँ कहाँ गएको विषयमा केही जानकारी छैन ।’
उनले अगाडि भने, ‘त्यो समयका कुनै कर्मचारी पनि कार्यालयमा अहिले कार्यरत नरहेकाले यस विषयमा जानकारी केही मिल्दैन ।’
गुठी संस्थान जनकपुरधामका प्रमुख रेग्मी रामायाण भवनको जिर्णोद्धार एवं सौन्दर्यीकरणका लागि आफूहरु गम्भीर रहेको प्रतिवद्धता जनाई रहँदा त्यसका लागि आएको रकमको सदुपयोग कार्यालयले गर्न नसकेको मञ्चका अध्यक्ष महासेठले आरोप लगाए ।
उनका अनुसार २०७१ सालमा केन्द्रीय गुठी कार्यालयले रामायण भवनको सौन्दर्यीकरण एवंं जिर्णोेद्धारका लागि २५ लाख रकम छुट्याएको थियो तर सो रकमको पनि अत्तो पत्तो छैन ।
यता गुठी संस्थान जनकपुरधामका प्रमुख रेग्मीले जिर्णोद्धारका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको स्वीकार गर्दै सो रकम निकासा हुन नसकेकाले कार्य अगाडि बढाउन नसकिएको स्पष्ट पारे ।
उनका अनुसार गत आर्थिक वर्षमा समेत रामायण भवनको जिर्णोद्धारका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको थियो तर निकासा भएन र चालु आर्थिक वर्षमा समेत ३० लाख बजेट छुट्याइएको छ । बजेट निकासा भएसँगै जिर्णोद्धारको काम अगाडि बढाइने प्रमुख रेग्मीले बताए ।