TodayPati

सिरहा बम विस्फोट : मालपोत कार्यालय बन्द, स्थानीय त्रसित

टुडेपाटी-
सिरहा, चैत २ गते ।

सिरहाको लहानस्थित मालपोत कार्यालयमा भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहले गराएको बम विस्फोटका कारण मालपोत कार्यालय बन्द भएको छ । आइतबार दिउँसो पौने १ बजे भएको विस्फोटपछि कार्यालय बन्द भएको हो ।

विस्फोटका कारण कार्यालयका तीन वटा काउन्टरमा क्षति पुगेको छ । त्यस्तै कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् । विस्फोटमा परी घाइतेभएकाहरुको रगत कार्यालयमा अझै सफा भइसकेको छैन ।

Sponsored

कार्यालय कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने विषयमा तत्कालै केही भन्न नसकिने कार्यालय प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए । कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा बम विस्फोट हुँदा एक कर्मचारीसहित ८ जना घाइते भएका थिए ।

घाइते हुनेमा मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, सेवाग्राही धनगढीमाई नगरपालिका ४ का दिनेशकुमार भण्डारी, गोलबजार नगरपालिका ४ का फुलकुमारी ठाकुर, गोलबजार ६ का लक्ष्मी राना मगर र बेचनी मगर, लहान नगरपालिका १६ तरेगनाका लालबहादुर विक, भगवानपुर ३ का बद्रीनारायण यादव र धनगढीमाई १३ का भोलाबहादुर पाँचेमगर छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएकामध्ये दिनेशकुमारको काठमाडौंमा र नायब सुब्बा शिवकुमारको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए । अन्यको भने स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

Sponsored

घटनाको केही बेरमै जयकृष्ण गोइत नेतृत्वको गोइत समूहले जिम्मा लिसकेको छ ।

विस्फोटका कारण स्थानीय अझै त्रसित छन् । प्रहरीले विस्फोट सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *