प्रदेश २ मा कमजोर भए माओवादी, १७ जना प्रदेश कमिटीका सदस्य एमालेमा गए
टुडेपाटी-
जनकपुरधाम, चैत २ गते ।
नेकपा माओवादी केन्द्रले नेकपा खारेज भएर पूर्ववत पार्टीमा फर्किँदा संगठनमा भएको क्षतिबारे प्रारम्भिक रिपोर्ट तयार पारेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरुले गरेको रिपोर्टिङअनुसार प्रदेश २ र लुम्बिनीमा बढी क्षति भएको देखिएको छ ।
बैठकमा नेताहरुले नेता बलियो हुने, तर संस्थागत संरचना लथालिंग हुने हालको अवस्था सुधार गर्नुपर्ने बताएका छन् ।
साथै विचार र नीतिमा स्पष्ट हुँदै माओवादीको के हो भन्ने स्थापित गर्नुपर्नेमा धेरैले जोड दिएका छन् ।
Sponsored
प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहका अनुसार साविकको नेकपामा प्रदेश २ बाट केन्द्रीय सदस्य भएकामध्ये तीन जना एमालेतिर गएका छन् ।
प्रभु साह, ज्वालाकुमारी साह र टेकबहादुर बलमपाकी एमालेतिर गएका हुन् ।
२१५ सदस्यीय प्रदेश कमिटीका माओवादीका १०७ जना थिए । उनीहरुमध्ये १७ जना एमालेमा गएका छन् ।
यद्यपि ४,५ जना अलमलकै अवस्थामा रहेको साहले बताए ।
प्रदेशसभा सदस्यमध्ये चारजना ज्वाला साह, कुन्दन कुशवाह, रामचन्द्र मण्डल र मोहम्मद समिर ओली समुह नेकपामा गएका थिए ।
रामचन्द्र मण्डल माओवादी केन्द्रमा फर्किन तयार छन् भने समिर अलमलमा छन् ।
अर्का प्रदेशसभा सदस्य दिलिप साह एमाले नगएको तर माओवादी केन्द्रमा सक्रिय नभएको साहको रिपोर्टिङ थियो ।
रौतहटका दुई र धनुषाका एक मेयर एमालेमा गएको रिपोर्टिङ साहले बैठकमा गरेका छन् । ‘कार्यकर्ता तहमा धेरै यताउता भएको छैन’ साहले भने, ‘यद्यपि नेकपा विभाजनले आमरुपमा निराशा छ, केहीलाई पहिल्यै एकता ठीक लागेको थिएन, उनीहरु खुसी छन् ।’
माओवादी केन्द्रलाई पुनर्गठित गर्न सहज नभएको उनले बताए ।
यद्यपि पार्टी नेतृत्व र नीति ठीक हो भने माओवादीले आफ्नो जनमतलाई कायमै राख्नसक्ने उनको दाबी छ ।