TodayPati

मधेसमा फेरि हतियारसहित जनतान्त्रिक किन एक्सनमा आए ? यस्तो छ गोइत समुहको नालीबेली

टुडेपाटी-

जनकपुरधाम, चैत २ गते ।

भूमिगत गतिविधि सञ्चालन गर्दै आएको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) तराई–मधेसमा फेरि सक्रिय हुन थालेको छ ।

Sponsored

आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा ८ जना घाइते भएको बम विस्फोटनको घटनामा गोइत समुहले जिम्मा लिएसँगै उसको सक्रियता तथा पछिल्लो गतिविधिलाई सुरक्षा निकायले समेत सुक्ष्म रुपमा अनुसन्धान थालेको छ ।

मधेसकेन्द्रित सशस्त्र गतिविधि गर्ने समूह लामो समयदेखि निस्क्रिय थिए । तीन वर्षअघि ४४ सशस्त्र समूह देखिएपनि पछिल्लो समय अधिकांस समुह मुलधारको राजनीतिमा आइसकेका छन् भने केही विस्थापित भइसकेका छन् ।

गृह मन्त्रालयका अनुसार अब गोइत समूहमात्रै अस्तित्वमा छ । गोइत समूहले मधेशकेन्द्रित मुद्दा अघि सारेर सशस्त्र गतिविधि गर्ने समूह पुनः ब्यूँतिएको विश्लेषण सुरक्षा निकायले गरेका छन् ।

Sponsored

सरकारले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहलाई २१ फागुनमा मूलधारमा ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति स्थापना भएको घोषणा गरेका थिए ।

तर गोइत समूह पुनः ब्युँतिएसँगै तराई–मधेसमा सशस्त्र समूह समाप्त भइनसकेको देखिएको छ ।

लहान नगरपालिका–८ स्थित भाडामा रहेको मालपोत कार्यालयको माथिल्लो तल्लामा मध्यान्ह १२ बजेर ४० मिनेटमा कुकर बम विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव, धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी घाइते भएका छन् ।

घाइतेहरुमध्ये भोलाबहादुर पाचे मगरको सप्तऋषि अस्पताल लहानमा तथा लक्ष्मी राणा, बेचनी मगर, लालबहादुर विक, फूलकुमारी ठाकुर र बद्री नारायण यादवको राउतको लहानमा उपचार भइरहेको छ ।

दिनेशकुमार भण्डारीलाई सप्तऋषि अस्पताल लहानमा उपचार पश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगिएको छ भने नायब सुब्बा शिवकुमार यादवलाई सप्तऋषि अस्पताल लहान हुँदै थप उपचारका लागि विराटनगर नोबेल अस्पताल रिफर गरिएको छ ।

घाइतेहरुमध्ये दिनेशकुमारको अवस्था गम्भीर तथा लालबहादुर विक, फूलकुमारी ठाकुर र बद्रिनारायण यादवको अवस्थामा मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी विस्फोटको जिम्मेवारी लिँदै अहिले उत्पन्न परिस्थितिको जिम्मेवार केन्द्र र प्रदेश सरकार हुने उल्लेख गरेको छ ।

विगत १७ वर्षदेखि मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको जनाएको छ ।

अवस्थामा सुधार नआए यसभन्दा पनि उच्च स्तरको कारबाही गर्ने चेतावनी पनि गोइत समूहले दिएका छन् ।

घटना भएको केही घण्टा अघि जनतान्त्रिक तराई मुक्ति मोर्चा ‘गोइत’ समूहका उपाध्यक्ष रामविलास यादवले जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेका थिए । यादव गोइत समूहका ’सेकेन्ड म्यान’ थिए ।

यादवको आत्मसमर्पणलाई लिएर नै समूहका असन्तुष्ट पक्षले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका गरेको छ ।

‘आज बिहान जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)का नेता रामविलाश यादवले प्रेस विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्नुभएको थियो,’ एसपी सुदिपराज राजभण्डारीले भने,’ उक्त समूहको असन्तुष्ट पक्षले हो वा अन्य कसैले विस्फोट गराएको हो त्यसबारे हामी छानबिन गर्दैछौं ।’

यादवले यसअघि आफूबाट नेपालको संविधान, प्रचलित कानुन ऐनविपरीत गतिविधिहरु सञ्चालन हुँदै आएको भए पनि अब उप्रान्त संविधान तथा कानुनविपरीतका त्यस्ता गतिविधिहरु त्याग गरी शान्तिपूर्ण रुपमा राज्यले अंगीकार गरेको नीति तथा निर्देशन पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले यसअघि आफूविरुद्ध मुद्दा लागेको भएमा माफी दिन समेत आग्रह गरेका थिए । दुई वर्षपहिले उक्त समूहका ११ नेताले १३ थान हतियार बुझाउँदै आत्मसमर्पण समेत गरेका थिए ।

२०७५ मंसिरमा गोइत समूहमा रहेका १५ सदस्यीय समितिमध्ये ११ जनाले हतियार बुझाएका थिए ।
सरकारी वार्ता टोलीसमक्ष अविनाश नेतृत्वको समूहले १० थान कटुवा पेस्तोल, एक थान लामो नाल भएको कटुवा, दुई थान रिभल्बर, १२ थान गोली र एक थान डेटोनेटर बुझाएको थियो ।

लहानमा भएको वार्तामा ६ बुँदे सहमति भएको थियो । सहमतिसँगै उक्त समूह राजनीतिको मूलधारमा आउने भनिएको थियो ।

अविनाशसहित प्रदिप भनिने नथुनी यादव, रोशन भनिने रामपुकार साह, कमल भनिने योगेन्द्र यादव, भगतसिंह भनिने भवानीप्रसाद अगरिया यादव, बद्री यादव, राहुल भनिने मो. सफिर, संजय भनिने देबेन्द्र खडगा, संजयकुमार यादव, शंकर भनिने संजयकुमार यादव, फुलबाबु भनिने फुलकुमार यादव सार्वजनिक भएका थिए ।

यस्तो छ गोइत समुहको नालीबेली

गोइत समूहको नेतृत्वकर्ता जयकृष्ण गोइत हुन् । हिंसात्मक आन्दोलनमा रहेका बेला तत्कालीन नेकपा माओवादीको मधेस मुक्ति मोर्चामा रहेका गोइत शान्ति सम्झौता हुनासाथ जनतान्त्रिक मुक्ति मोर्चामा सक्रिय भए ।

युद्धकालमा गोइतलाई हटाएर तत्कालीन माओवादीले मातृका यादवलाई मधेस राष्ट्रिय मुक्ति मोर्चाको संयोजक बनाएपछि उनले माओवादी छाडेका थिए । त्यसपछि गोइतले आफ्नै नेतृत्वमा सशस्त्र समूह गठन गरेका थिए ।

त्यतिबेलादेखि नै पटक–पटक मधेसमा हिंसा मच्चाउँदै आएका गोइतले मधेसमा आतंक सिर्जना गर्ने क्रम पुनः थालेका छन् । स्वतन्त्र तराई अर्थात् तराईलाई अलग देश बनाउने भन्दै गोइत १० साउन २०६१ भूमिगत भएका थिए ।

उनले २०६३ चैत २६ गते जारी गरेको एक विज्ञप्तीमार्फत् नेपाली शासकले तराई छोडनुपर्ने, तराई स्वतन्त्र राज्य हुनुपर्ने, तराईको शासन तराईको मूलबासीले गर्न पाउनुपर्ने, तराईको सम्पूर्ण राजस्व तराईको विकासमा खर्च गर्नुपर्ने जस्ता मागहरु अघि सारेका थिए ।

सप्तरी त्रिकौल घर भएका गोइतले पञ्चायती शासन व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । त्यसपछि किसान आन्दोलन, सर्वहारामुक्ति आन्दोलन र माओवादी जनयुद्धसमेत लडेका थिए ।

गोइत आफै फिल्डमा देखिँदैनन्, आफ्ना समूहका सदस्यहरूमार्फत् उनले सिर्जना गर्नसक्ने आतंकको त्रास भने तराइमा कायमै छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *