बम विस्फोटमा घाइते भएका भण्डारीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
टुडेपाटी-
सिरहा, चैत १ गते ।
सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा गम्भीर रुपमा घाइते भएका एकजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । धनगढमिाई नगरपालिका ४ सिरहाका ३५ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो ।
कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा दिउँसो १ बजेतिर भएको विस्फोटमा परी ८ जना घाइते भएका थिए । घाइते नासु शिवकुमार यादवलाई भने एम्बुलेन्समा विराटनगर लगिएको छ ।
अन्य ६ जना घाइतेको लहानमै उपचार भइरहेको छ । घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ ।
कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा दिउँसो १ बजेतिर अचानक बम बिस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर पनि घाइते भएका छन् ।
बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्री नारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
Sponsored
घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।
विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले घटनाको जिम्मा लिएको छ ।