पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्षमाथि साङ्घातिक आक्रमण, शरीरभरि नीलडाम
टुडेपाटी-
सर्लाही, फागुन २८ गते ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष तथा एभिन्युज टेलिभिजनको सर्लाही संवाददाता बख्तियार अलीमाथि साङ्घातिक आक्रमण भएको छ । बिहीबार साँझ आक्रमणमा परेका उपाध्यक्ष अलीको शरीरभरि नीलडाम तथा चोट लागेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले जनाएको छ ।
उनीमाथि मलङ्गवा नगरपालिका १० स्थित आफ्नै घरमा आक्रमण भएको हो । आक्रमणका कारण अलीको टाउँकोदेखि खुट्टासम्म चोट लागेको छ । उनी गम्भीर घाइते भएको सर्लाही प्रहरीले जनाएको छ ।
उपाध्यक्ष अलीमाथि उनको आफ्नै घरअगाडि मोटरसाइकल रोकी उनका आफ्नै भाइले अन्धाधुन्ध आक्रमण गरेको स्थानीयले बताएका छन् । उपाध्यक्ष अलीले आफूमाथि पटकपटक आक्रमणको प्रयास भएको बताए ।
उनको शारीरिका विभिन्न भागमा दर्जनभन्दा बढी टाँका लगाइएको परिवारजनले बताएका छन् । उनका कान्छा भाइले आक्रमण गरेको र उनी आपराधिक गतिविधिका रहनुको साथै लागुपदार्थ प्रयोगकर्ता रहेकासमेत उनको परिवारले जनाएको छ ।
दाजुमाथि आक्रमण गरी उनी फरार रहेका अलीका परिवारले बताएका छन् । उनलाई यथाशीघ्र पक्राउ गरी आवश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीसँग माग समेत गरिएको छ ।
Sponsored