TodayPati

प्रदेश २ : ओलीसँगै लागेका सांसदहरु माओवादीमै फर्किन थाले, दलको नेताकालागि लफडा

टुडेपाटी-

जनकपुरधाम, फागुन २७ गते ।

प्रदेश २ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तत्कालीन् नेकपामा लागेका माओवादी केन्द्रका तीन प्रदेश सांसद आफ्नै पार्टीमा फर्किने भएका छन्।

Sponsored

प्रतिनिधिसभा विघटनपश्चात ओलीको पक्षमा लागेका चार जनामध्ये कुन्दन कुशवाहा, रामचन्द्र मण्डल र मो. समिरले माओवादीमै फर्किने संकेत गरेका छन्।

ओली पक्षमा लागेकी माओवादीकै ज्वालाकुमारी साह भने फर्किने मनस्थितमा छैनन्। प्रदेश २ मा नेकपा एमालेका २१ र माओवादी केन्द्रका ११ जना सांसद छन्।

दुवै दल एकता हुँदा नेकपामा ३२ जना सांसद रहेका थिए। तर पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात नेकपाका सांसदहरु दुई गुटमा विभाजित भएका थिए।

Sponsored

सर्वोच्च अदालतले नेकपालाई खारेज गरी एमाले र माओवादी ब्युँताएपछि एमालेका सांसदहरु पार्टीमै फर्केका छन्।

ओली पक्षमा लागेका प्रदेश सांसद कुन्दन कुशवाहाले आफु पार्टीमै रहेको बताए।

‘म कतै गएकै छैन। दुईदल एकता हुँदा नेकपा थियो। म पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीको पक्षमा थिएँ। अहिले सर्वोच्चले नेकपा खारेज गरेर दुबै पार्टी ब्युँताएपछि म माओवादीमै छु,’ कुशवाहाले भने।


यस्तै ओली पक्षमा रहेका माओवादीका तत्कालीन संसदीय दलका नेता समेत रहेका रामचन्द्र मण्डलले आफु पार्टीमा फर्किने वा नफर्किने विषयमा छुट्टिएका साथीहरुसंग छलफल गरिरहेको बताए।

उनले भने ‘पार्टीमा फर्किने वा नफर्किने विषयमा अहिले केही भन्न सकिन्न। हामी छलफलकै क्रममा छौँ।’

माओवादी केन्द्रका सांसद दिलीप साहले पनि सांसद मण्डल पार्टीमा फर्किन सकारात्मक रहेको बताएका छन्।

‘म पार्टी दुई कित्तामा विभाजन हुँदा पनि तटस्थ नै छु। अहिले अब पार्टी ब्युँतिएपछि माओवादीमै छु। कतै कुनै पक्षमा गएको छैन। तर म ओली पक्षमा लागेको भनेर अफवाह फैलाइएको छ,’ नेता साहले भने ‘ओली पक्षमा जानु भएका सांसद रामचन्द्र मण्डलजीले मलाई फोन गर्नु भएको थियो। हामीलाई पनि यतै रहनुपर्छ भन्ने कुरा गर्नुभएको छ। पार्टीमा फर्किन सकरात्मक नै हुनुहुन्छ।’

दलको नेताका लागि रस्साकस्सी

एकीकरणअघि माओवादी संसदीय दलका नेता रामचन्द्र मण्डल ओली समूहमा लागेपछि माओवादीमा अहिले संसदीय दलको नेता चयनको विषय पेचिलो बनेको छ । 

मण्डलले पार्टी नेतृत्व अप्ठेरो परिस्थितिमा हुँदा कित्ता परिवर्तन गरेको, अझै पार्टीमा फर्किने निर्णय गरी नसकेकाले दलको नेता कसलाई बनाउने भन्ने विषयमा छलफल हुने नेताहरू बताउँछन् । दलको नेता बन्न कतिपयले केन्द्रीय नेतासँग लबिङ सुरु गरिसकेका छन् ।  

मातृका यादवनिकट महोत्तरीका सांसद भरत साह र दिलिपकुमार साह प्रमुख दाबेदार मानिएका छन् । भरत साहले एकीकरणअघिसमेत संसदीय दलको नेतामा दाबी गर्दै रामचन्द्र मण्डलविरुद्ध उम्मेदवारी दिएका थिए । 

सहमतिमा दलको नेता चयन गर्ने प्रयास बिफल भएपछि निर्वाचन भएको थियो, जसमा साह पराजित भएका थिए । 

यही पदमा सांसद दिलिप साहले दाबी गरे पनि उनलाई दलको प्रमुख सचेतक बनाइएको थियो । अहिले भने दलको नेता कसलाई बनाउने भन्नेबारे छलफल सुरु नभएको र चाँडै बैठक बोलाइने सांसद साहले बताए । 

‘यसबारे हामी बसेर छलफल गर्छौं । दाबेदार म पनि छु’, उनले भने, ‘चैत २ गते राष्ट्रिय भेलापछि हामी पार्टीमा छलफल गरेर निर्णय गर्नेछौं’, साहले भने । मण्डल पार्टीमा फर्किए उनैलाई पुनः दलको नेता बनाउन सकिने साहको भनाइ छ । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *