TodayPati

राजेन्द्र महतोको योजनामा ज्वाईको रजाइँ

जनकपुरधाम, फागुन २६ गते ।

जनकपुरधाम- धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोको संसदीय विकास कोषको योजनामा उनकै ज्वाईले रजाइँ गरिरहेको पाइएको छ। 

प्रदेश २ का सभामुख सरोजकुमार यादवका राजनीतिक सल्लाहकारसमेत रहेका महतोका ज्वाई अनिल माहसेठ नै संसद विकास कोषबाट हुने कामको योजना बाँड्दै आइरहेको पाइएको हो। यतिमात्र नभई कयौँ योजनाको शिलान्यास स्वयं महासेठले समेत गरेका छन्। 

Sponsored

धनुषाको विदेह नगरपालिका वडा नम्बर ९ स्थित ईटहर्वामा नेता महतोको संसदीय विकास कोषको रकमबाट सामुदायिक भवनको शिलान्यास मंगलबार महासेठले गरेका थिए। २० लाखको बजेट रहेको सो योजनामा त्यहाँ २ वटा पक्की कोठाको सामुदायिक भवन निर्माण गर्ने लक्ष्य छ। 

स्थानीयवासीले आफ्नो कार्यकर्ताहरुलाई फाइदा पुर्‍याउने गरी सो भवन निर्माण योजना ल्याइएको आरोप लगाए। महतोको संसदीय विकास कोषबाट हुने कामका लागि उनका ज्वाईले जसलाई चाहन्छन् उनलाई नै दिने गरिएको आरोप स्थानीयको छ। 

विदेह नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जुमरात नदाफले शिलान्यास गर्ने दिन कार्यक्रम छ भनेर आमन्त्रित गरिए पनि कार्यक्रमबारे पूर्ववत् जानकारी नगराएकाले आफू उपस्थित हुन नसकेको बताए। वडा अध्यक्ष नदाफले संसदीय विकास कोषको रकममा सांसदको ज्वाईले चलाउनु भनेको दुरुपयोग रहेको प्रतिक्रिया दिए। सांसद महतो आफैँ नआएर ज्वाईलाई शिलान्यास गर्न लगाउनु कोषको दुरुपयोग रहेको उनको भनाइ छ।

Sponsored

महतोको संसदीय विकास कोषको रकमबाट विदेह नगरपालिका वडा नम्बर ९ मा सामुदायिक भवन निर्माणका लागि नगरपालिकासँग कुनै प्रकारको समन्वय नगरिएको नगरप्रमुख बेचन दासले बताए। 

उनले संसदीय विकास कोषबाट हुने कार्यका लागि स्थानीय पालिकासँग समन्वय गरी काम गर्नुपर्ने प्रावधान रहे पनि आफूहरुलाई त्यहाँ शिलान्यास गरिएको सामुदायिक भवनको निर्माणका विषयमा जानकारी नरहेको बताए।

उनले भने ‘हामीसँग यस विषयलाई लिएर समन्वय गरिएको छैन, म अब कानूनी बाटो अपनाउने योजनामा छु।’ उनका अनुसार सोही नगरपालिकामा वडा नम्बर ३ को एक पोखरीको सौन्दर्यीकरणका लागिसमेत काम अगाडि बढाइए पनि समन्वय नगरिएको बताए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *